उतारचढावका बीच नेप्सेमा दोहोरो अंकको सुधार

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

सेयर बजार बुधबार उतारचढावका बीच दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १३ दशमलव ३३ अंकले बढेर दुई हजार ४३ दशमलव ९२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ६८ अंकले बढेर तीन सय ८८ दशमलव ९१ बिन्दुमा पुगेको छ । 

केही बढेको देखिए पनि लगानीकर्ताले निर्णय लिन नसक्दा बजारले स्पष्ट दिशा समाउन सकेको छैन । आर्थिक वर्षको अन्त्य हुने समय भएकाले पनि लगानीकर्ता बजारमा होमिन नसकेको सरोकारवालाको भनाइ छ । अर्कोतर्फ, लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा देखिएका छन् । 

मौद्रिक नीतिमा बजारलाई सहज हुने वातावरण बनाउनका लागि लगानीकर्ताले आन्दोलनसमेत गरेका थिए । मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाएको चार करोड र १२ करोडको सीमा कर्जालाई हटाउनुपर्ने माग राख्दै आएका छन् । त्यसैले पनि अहिले लगानीकर्ता मुख्य गरी मौद्रिक नीतिकै पर्खाइमा देखिएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये वाणिज्य बैंक, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको सूचक सामान्यले घटेका छन् भने विकास बैंक समूह, फाइनान्स समूह, जीवन बिमा समूहको सूचक दुई प्रतिशतभन्दा बढीले बढ्दा जलविद्युत् समूह एक दशमलव ४५ प्रतिशतले घटेको छ । बाँकी अन्य समूहको सूचक समान्य बढेका छन् ।

बजारमा आएको उतारचढावसँगै कारोबार रकममा पनि कमी आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार गोर्खाज फाइनान्सको सेयर सबैभन्दा बढी भएको छ । कम्पनीको ११ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर ११ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । सिभिल बैंक, हिमालयन डिस्टिलरी, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको आठ करोड रुपैयाँदेखि १० करोड ५४ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

यस दिन एकसय २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको सेयर मूल्य घटेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, सिवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनी, सिभिल बैंक, रिलायन्स फाइनान्स, इमर्जिङ नेपालको सेयर मूल्य ६ प्रतिशतदेखि सात दशमलव ७८ प्रतिशतसम्मले बढेका छन् ।

उतारचढावका बीच सबैभन्दा धेरै घट्नेमा एनसिसी बैंको ऋणपत्र, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सिटिजन म्युचुअल फन्ड, किसान लघुवित्त वित्तीय संस्था र सिटिजन म्युचुअल फन्ड तथा ङादी ग्रुप पावर कम्पनीको सेयर ३ प्रतिशतदेखि ५ दशमलव ८९ प्रतिशतले घटेका छन् ।

See More On

सुझावित समाचार