अन्तिम समयमा घटेको बजारमा कारोबार रकम चार अर्बभन्दा बढी

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ९ दशमलव ७५ अंकले घटेर दुई हजार ७६ दशमलव ६७ बिन्दुमा आइपुगेको हो । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव ८९ अंकले घटेर तीन सय ९५ दशमलव ९४ बिन्दुमा आइपुगेको छ । 

दुई हजार बिन्दुको मनोवैज्ञानिक परीक्षण गरिरहेको बजारमा यस दिन नेप्से सूचक २१ सयको बिन्दुसम्म पुगेको थियो । कारोबारको सुरुवाती समयदेखि नै उच्च बढेको नेप्से बन्द हुने अन्तिम केही मिनेटमा भने घट्न पुगेको छ । बजार घटे पनि कारोबार रकम भने अन्य दिनको तुलनामा बढेको छ । यस दिन धितोपत्र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३४ कम्पनीको एक करोडभन्दा बढीको सेयर चार अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । 

यस दिन सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट अगाडि रहेको छ । कम्पनीले १७ करोड ५८ लाख रुपैयाँको कारोबार गरेको छ । त्यसैगरी, हिमालयन डिस्टिलरीको सेयरमा पनि लगानीकर्ता आकर्षित भएका छन् । कम्पनीको १६ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर, अपर तामाकोसी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ११ करोड रुपैयाँदेखि १२ करोड ९६ लाख रुपैयाँसम्मको कारोबार भएको छ  ।

सामान्य घटेको बजारमा सिवाइसी लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी, साल्ट टे«डिङ, विशाल बजार कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक, सन्जेन जलविद्युत्, अजोड इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको कम्पनी सेयर मूल्य ४ प्रतिशतदेखि ७ प्रतिशतभन्दा बढीले बढेको छ । 
ग्लोबल आइएमई बैंकको ऋणपत्र, युनियन हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर ६ प्रतिशतदेखि ९ दशमलव ७५ प्रतिशतले घट्न पुगेको छ । कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये जीवन बिमा, निर्जीवन बिमा, म्युचुअल फन्ड र ट्रेडिङ समूहको सूचकमा बढ्दा बाँकी अन्य समूहको सूचक घट्न पुगेको छ ।

See More On

सुझावित समाचार