‘एलजिबिटिक्यू वयस्कमा मुटुरोगको जोखिम बढी’

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

लैंगिक  पहिचानका आधारमा आधारभूत अधिकारबाट वञ्चित भइरहेका यौनिक अल्पसंख्यकहरू समाजमा विभेद त भोगिरहेकै छन्, साथसाथै शारीरिक बनावटका कारण विभिन्न स्वास्थ्य समस्याको समेत जोखिममा छन् । यस्ता व्यक्तिहरूमा मंकीपक्सको उच्च जोखिम, अल्कोहलको कुलतमा फस्ने मात्रै होइन, क्यान्सरजस्तो घातक रोगको पहिचानमा समेत समस्या हुने गरेको अध्ययनले देखाएको छ । पछिल्लो अध्ययनले त फरक लैंगिकताका कारण मुटुसम्बन्धी समस्याको समेत उच्च जोखिममा रहेको देखाएको छ । अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले विसमलिंगीको तुलनामा यौनिक अल्पसंख्यकमा मुटुको समस्या बढी भएको दाबी गरेको छ । एसोसिएसनको अध्ययन प्रतिवेदनमा ३६ प्रतिशतभन्दा बढीमा यो जोखिम रहेको उल्लेख छ ।

वर्षौँदेखि यौनिक अल्पसंख्यकको स्वास्थ्यमाथि अध्ययन गरिरहेको एसोसिएसनले धूम्रपान र रगतमा ग्लुकोजस्तर जस्ता कारकलाई आधार मान्दै निष्कर्ष निकालेको जनाएको छ । समाजमा हुने भेदभावको मानसिक असर र ट्रान्सफोबियाबाट आउने तनावसँग पनि यो जोखिम जोडिएको उल्लेख छ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार करिब ८० प्रतिशत हृदय रोग र स्ट्रोकहरू रोक्न सकिन्छ । तर, यो तथ्यांक सामान्य व्यक्तिमा गरिएको सर्वेक्षणमा आधारित छ । यौनिक अल्पसंख्यकमा देखिने विभिन्न स्वास्थ्य समस्यामाथि भने अझै गहिरो अध्ययन गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ । 

 तनाव
अन्य व्यक्तिको तुलनामा यौनिक अल्पसंख्यकहरूले कलंक, भेदभाव र हिंसाको डरका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तनाव भोगिरहेका हुन्छन् । तनावले रक्तचाप र मुटुको गतिलाई नियन्त्रण गर्ने निश्चित हार्मोनलाई प्रत्यक्ष असर गर्छ । र, हाइपरभिजिलेन्स अर्थात् सधैँ हिंसा तथा भेदभावको डरका कारण हुने मानसिक समस्याले शरीरमा कोर्टिसोलको स्तर बढाउने गर्छ । यसले दीर्घकालीन हृदयरोगसम्बन्धी समस्या निम्त्याइरहेको अध्ययनको निष्कर्ष छ । 

‘तनावले दीर्घकालीन सुजन निम्त्याउन सक्छ, जसले रक्तचाप र मुटुको धड्कनको दर बढाउन सक्छ,’ जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनका सहायक निर्देशक डा. एरिन मिकोसले भनेका छन् । अधिकांश दीर्घरोगको समस्या अप्रत्यक्ष रूपमा तनावसँग जोडिने भएकाले यौनिक अल्पसंख्यकमा यस्तो समस्या लिएर बाहिर आउने दर बढ्दै गएको चिकित्सकले जनाएका छन् । 

निरन्तर भेदभाव र उत्पीडनसँग जुध्नुपर्ने भएकाले अधिकांश रक्सी तथा लागुऔषधको प्रयोग गर्ने गरेको बोस्टन मेडिकल सेन्टरको ट्रान्सजेन्डर मेडिसिन र शल्यक्रिया केन्द्रका अनुसन्धानकर्ता डा. स्ट्रिडले बताए । उनले सन् २०२० मा विसमलिंगी १८.८ प्रतिशत वयस्कहरूको तुलनामा लगभग २५ प्रतिशत लेस्बियन, समलिंगी वा उभयलिंगी वयस्कले व्यावसायिक सुर्तीजन्य उत्पादन प्रयोग गरेको अमेरिकी रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । उनले यौनिक अल्पसंख्यक वयस्कहरूले सामान्य जनसंख्याको तुलनामा धेरै निद्रा समस्याहरू र अवरोधहरू अनुभव गर्ने र यो दीर्घकालीन तनावसँग पनि जोडिएको दाबी गरेका हुन् । 

 उपचारमा समस्या 
हार्वड विश्वविद्यालयको पछिल्लो एक सर्वेक्षणले प्रत्येक ६ जनामध्ये एकजनाले हिंसामा परिने डरका कारण उपचारका लागि बेवास्ता गर्ने गरेको पाइएको थियो । अर्थात्, हिंसा र भेदभावमा परिने डरका कारण धेरैजसोले स्वास्थ्य जटिलतालाई बेवास्ता गर्दासमेत मुटुरोगको जोखिम बढिरहेको बताइएको छ । सामान्यतया क्यान्सर, मुटुरोगजस्ता समस्या हुन नदिन समय–समयमा स्वास्थ्य चेकजाँच गर्नुपर्ने भए पनि यौनिक अल्पसंख्यकहरू विभिन्न कारणबाट उपचारबाट वञ्चित हुँदै आएका छन् ।

लिंग पुष्टि गर्ने हर्मोनले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव नपार्ने भए पनि टेस्टोस्टेरोन र एस्ट्रोजनको उच्च मात्राले हृदयाघातको जोखिम हुन सक्ने केही प्रमाण भेटिएको विज्ञहरूले जनाए । यी हर्मोनहरू लिइरहेका व्यक्तिले आफ्नो मुटुको स्वास्थ्य कसरी कायम राख्ने भन्नेबारे नियमित चिकित्सकसँग सल्लाह लिनुपर्ने जनाइएको छ । अमेरिकन हार्ट एसोसिएसनले बढ्दो हृदयरोगसम्बन्धी समस्या व्यवस्थापनका लागि रक्तचाप व्यवस्थापन गर्ने, कोलेस्ट्रोरलको स्तर कम राख्ने, रगतमा चिनी कम गर्ने, दैनिक व्यायाम गर्ने, पौष्टिक आहार खाने, स्वस्थ शरीरको तौल कायम राख्ने र धूम्रपान नगर्नेजस्ता सुझाबसमेत दिएको छ । 
एजेन्सी

See More On

सुझावित समाचार