आइतबार नेप्से परिसूचक ५७ दशमलव ६५ अंकले बढेर दुई हजार ८६ दशमलव ४२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १० दशमलव २१ अंकले बढेर तीन सय ९८ दशमलव ८२ बिन्दुमा पुगेको छ ।
बजारले अहिले दुई हजार बिन्दुको मनोवैज्ञानिक परीक्षण गरिरहेको छ । नेप्से सूचकमा अहिले उत्तारचढाव आइरहेको हुँदा लगानीकर्ता सेयर बेच्नभन्दा पनि सेयर खरिद गर्न र भएको सेयर होल्ड गर्न चाहिरहेका देखिन्छन् । लामो समयको करेक्सन पार गरेकाले पनि आगामी बजार सकारात्मक हुने अपेक्षा लगानीकर्ताले राखेका छन् ।
बजारमा ठूलो करेक्सन आएकाले सेयर मूल्य निकै सस्तो बन्न पुगेको छ । अहिले अधिकांश वाणिज्य बैंकलगायतका सेयर पाँच सय रुपैयाँभन्दा कम मूल्यका रहेका छन् । त्यसैले पनि अहिले बजार बढ्दो अवस्थामा रहेको र मूल्य सस्तो भएकाले पनि खरिदकर्ता हाबी भइरहेका छन् ।
बजार बढेसँगै एक सय ७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । खरिदकर्ता हाबी हुँदा दुई अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको ६२ लाख २७ हजार कित्ता सेयर खरिद–बिक्री भएको हो ।
कारोबारमा आएका १३ वटै समूहका सूचकमा हरियाली छाएको छ । टे«डिङ समूहको सूचक सबैभन्दा धेरै अर्थात् नौ दशमलव ३० प्रतिशतले बढ्दा जलविद्युत् समूहको सूचक पाँच दशमलव ६५ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह, उत्पादनमूलक समूह र ‘अन्य’ समूहको सूचक ४ प्रतिशतभन्दा बढीले बढ्दा यी कम्पनीका लगानीकर्ता उत्साहित बनेका छन् । माइक्रो फाइनान्स, विकास बैंक समूह, होटेल तथा पर्यटन समूह ३ प्रतिशतभन्दा बढीले बढेका छन् ।
त्यसैगरी, निर्जीवन बिमा समूहको सूचक दुई दशमलव २१ प्रतिशतले बढ्दा, वाणिज्य बैंक र जीवन बिमाको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा न्यादी गु्रप पावर कम्पनी रहेको छ । कम्पनीको २२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यसैगरी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआइसी एसिया बैंक, नेपाल पुनर्बिमा कम्पनी, नबिल बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६ करोड रुपैयाँदेखि आठ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
बजार बढेसँगै ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्ट टे«डिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अपर तामाकोसी हाइड्रोपावर, सान्जेन जलविद्युत् परियोजना, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था र सिवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रसुवागढी जलविद्युत्, मध्यभोटेकोसी जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दा यी कम्पनीका लगानीकर्ताले राम्रो नाफा आर्जन गरेका छन् ।
