तुलसीपुरका पहाड दोहन गर्न अनुमति लिने प्रक्रिया अघि बढेको छ । तुलसीपुर– ५ स्थित सुनगाभा माइन्स प्रालिलाई तुलसीपुरको वडा नम्बर ३ र ४ मा पर्ने पहाडबाट चुनढुंगा उत्खनन गर्न अनुमति दिने प्रक्रिया अघि बढेको पाइएको छ ।
प्रालिले चुनढुंगा उत्खननका लागि पेस गरेको खानी योजना (माइनिङ स्किम) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) को टिओआर दुवै खानी तथा भूगर्भ विभागले स्वीकृत गरिसकेको छ ।
गएको जेठ २७ गते विभागीय निर्णयले स्वीकृत गरिसकेको पत्र जिल्ला वन कार्यालय दाङमा आएर अहिले तुलसीपुर सबडिभिजन वन कार्यालयमा त्यो पत्र पुगेको छ । असार ५ गते विभागले जिल्ला वनमा सो पत्र पठाएको र वनले तुलसीपुर सब वन डिभिजनलाई असार ८ गते आवश्यक प्रक्रियाका लागि निर्देशन दिएको छ ।
अब तुलसीपुर वन डिभिजन कार्यालयले प्रालिको माग गरेको जग्गाको स्थलगत निरीक्षण र जाँचबुझ गरी सोको क्षेत्रफल, चार किल्ला, नापी फिल्डबुक एवं नक्सा, जिपिएस कोअर्डिनेट विवरण र गुगल नक्सा र सोही जग्गामा पर्ने वन स्रोत सर्वेक्षण गर्नेछ । सो कुरा जिल्लाको डिभिजन वन अधिकृतले प्रमाणित गर्नेछन् । आइइईका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ र ४ उपमहानगरपालिका कार्यालय तथा त्यहाँको सामुदायिक वन उपभोक्ता समूहमा पुग्नेछन् ।
यदि वडा कार्यालय, उपमहानगरपालिका र त्यहाँको सामुदायिक वन उपभोक्ता समितिले अस्वीकार गरेमा उत्खननका लागि अनुमति पाउने छैनन् । त्यहाँको करिब नाै किलोमिटर क्षेत्रफलबाट चुनढुंगा उत्खनन गर्ने गरी २०६९ भदौ १ गतेदेखि प्रालि अनुमतिका लागि प्रक्रियामा छ । तर, त्यो प्रक्रिया पूरा हुन सकेको छैन । यदि त्यहाँ चुनढुंगा उत्खनन भएमा तुलसीपुर, अमृतपुर र बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई असर पुर्याउने भन्दै यसको विरोध हुने गरेको छ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था पटक–पटक खानी विभाग, वन विभागमा डेलिगेसन गएको बताइएको छ । अध्यक्ष यमकान्त भण्डारीका अनुसार विभागमा जाँदा प्रक्रियागत रूपमा आएकाले सोहीअनुसार अगाडि बढ्ने र सम्बन्धित वडा र स्थानीय तह तथा उपभोक्ताले अस्वीकृत गर्न चाहेमा अस्वीकृत हुने गरी प्रतिक्रिया दिएको बताए । ‘हामी विभागमा जाँदा विभागले प्रक्रियाअनुसार आएकाले सोहीअनुसार प्रक्रिया अगाडि बढ्छ, त्यसमा स्थानीय सरकारले चाहेमा अस्वीकृत हुन सक्छ भनेर प्रतिक्रिया दिनुभएको छ,’उनले भने, ‘अब हामी त्यहीअनुसार स्थानीय तहलाई झकझक्याउनेछौँ ।’
चुनढुंगा भएकै कारण पानीका मुहानहरू संरक्षण भइरहेको भन्दै यदि त्यहाँबाट चुनढुंगा उत्खनन भएमा पानीका मुहान सुक्ने र तुलसीपुर काकाकुल हुने भन्दै यस विषयमा आफूहरूले कुनै पनि हालतमा उत्खनन हुन नदिने अध्यक्ष भण्डारीको भनाइ छ । उनका अनुसार अहिले त्यस क्षेत्रका सातवटा मुहानबाट तुलसीपुरमा खानेपानी ल्याइएको छ । ती मुहानले नै अहिले तुलसीपुरमा खानेपानीको आपूर्ति गरेको भन्दै ती मुहान सुकेमा तुलसीपुरमा खानेपानी आपूर्तिमा समस्या हुने उनको भनाइ छ ।