अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेन

बाढीले बगाएर एक वेपत्ता, चट्याङ लागेर एकको मृत्यु

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण
अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेन

तस्वीरः बाढीले बगाएको डाइभर्सन मर्मत गरिँदै।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको सडक अझै खुलेको छैन । उक्त सडक बुधबार बिहान छ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक अझै नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए । उनका अनुसार बुधबार रातिसम्ममा सडक खुलाउने गरी डाइभर्सन मर्मतको काम चलिरहेको छ । 

नवलपुरमा राजमार्गका तीन स्थानमा डाइभर्सन बगाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले बगाएको हो । 

पूर्व-पश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौताअनुसार असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सकेको छ । सो कम्पनीले वर्षा नलाग्दै पुलपुलेसाको काम सकेर डाइभर्सनको काम सकिसक्ने बताए पनि अहिले पूर्व-पश्चिम राजमार्गमा दुई सय बढी स्थानमा डाइभर्सनहरूबाट सडक सञ्चालनमा रहेका छन् । जसले गर्दा सामान्य पानीमा पनि पटक-पटक डाइभर्सन बगाएर सडक अवरुद्ध भइसकेको छ । 

धानको बिउ पुर्याउन जाँदा खोलाले बगाएर एकजना बेपत्ता 
पूर्वी नवलपरासीमा धानको बिउ छोड्न बारीमा जाँदै गरेका एकजना पुरुषलाई खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका–२ का ६८ वर्षीय केसबहाादुर चमाललाई खोलाले बगाएको हो । बुधबार दिउँसो धानको खेतमा धानको बिउ छोड्न जाने क्रममा उनलाई मध्यबिन्दु ९, सिम्रेनी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ । 

धान रोप्ने क्रममा चट्याङ लागेर एकको मृत्यु 
पश्चिम नवलपरासीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजना महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम नगरपालिका–१० लक्ष्मीपुरमा खेतमा धान रोपिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ६० वर्षीया महिला मराक्षी चौधरीको निधन भएको हो । चट्याङ लागेर अचानक बेहोस भएकी ती महिलाको उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । 

 

सुझावित समाचार