फिल्म सिटी प्रवेशमार्ग सम्पन्न नहुँदै उप्कियो कालोपत्रे, पिच सडकमा उम्रियो झार

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

सरकारले दोलखाको खरिढुंगामा निजी–सार्वजनिक साझेदारी अवधारणामा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र नगरी (फिल्म सिटी) प्रवेश गर्ने सडक निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किएको छ भने पिच सडकमा झार उम्रिएको छ । लामोसाँघु–जिरी सडकखण्डको खरिढुंगाबाट फिल्म सिटीतर्फ उक्लिने खरिढुंगा-डाङडुङे सडक निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किएको र कालोपत्रे गरिएको सडकमा झार उम्रिएको हो । स्थानीयका अनुसार उक्त सडकमा गत वैशाखमा कालोपत्रे गरिएको थियो । सडक निर्माण सम्पन्न भइसकेको छैन, तर कालोपत्रे गरिएको सडकको बीचभागमा झार उम्रिएको र कालोपत्रे उप्किएपछि स्थानीय सशंकित भएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेकै कारण सडक यति छोटो समयमा बिग्रिएको हुन सक्ने उनीहरूको गुनासो छ । 

स्थानीय तहको निर्वाचनताका गरिएको कालोपत्रे स्थानीयले महसुस गर्ने गरी नै कम गुणस्तरका सामग्री प्रयोग भएको र आफूहरूले ध्यानाकर्षण गराउँदा यो विधि नै यस्तै हो भन्दै जवाफ दिएको उनीहरूले आरोप लगाएका छन् । पूर्वशिक्षकसमेत रहेका खरिढुंगाका स्थानीय जयबहादुर श्रेष्ठले सुरुवातदेखि नै सडक निर्माणमा सरोकारवालाहरूले हेलचेक्य्राइँ गरेको सुनाए । त्यसको परिणाम आज सडक भत्किएको उनको भनाइ छ । 

सरकारले प्राथमिकताका साथ अघि बढाएको फिल्म सिटी प्रवेश गर्ने सडकमा यति ठूलो बदमासी भएको भन्दै तत्काल छानबिन गर्न सरोकारवालाहरूले माग गरेका छन् । भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले गुणस्तरीय सडक निर्माण गर्न र गुणस्तरीय नभए छानबिन गरी कारबाही गर्न माग गरेका छन् । उनले फिल्म सिटीजस्तो मेघा प्रोजेक्ट प्रवेश गर्ने मार्ग कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किनु दुःखद भएको बताए । 

सडक कालोपत्रे गर्नुपूर्व बिछ्याइने बेस र सबबेसको राम्रो तालमेल नमिल्नु र कालोपत्रे गर्दा प्राविधिकको भरपर्दो अनुगमन नहुनुजस्ता कारणले कालोपत्रे उप्किने र झारहरू उम्रिने हुन सक्ने सो क्षेत्रका जानकार बताउँछन् । उक्त सडक व्यवस्थापन गर्दै आएको प्रादेशिक डिभिजन कार्यालय सिन्धुलीका डिभिजन प्रमुख देवनारायण यादवले सो क्षेत्रमा धेरै चिसो हुने भएकाले कोल्ड मिक्स प्रविधिको कालोपत्रे गरिएको बताए । उनले कालोपत्रे गरिएको दुई महिना नबित्दै उप्किएको र सडकमा झार उम्रिएको भन्नेमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नयाँ पत्रिकासँग उनले भने, ‘कसरी त्यस्तो हुन गयो, त्यसबारे म अध्ययन गर्छु ।’ कार्यालयले १२ करोड ४५ लाख लागतमा खरिढुंगादेखि डाङडुङेसम्मको आठ किलोमिटर सडकमध्ये चार किलाेमिटर ६ सय मिटर सडकमा कालोपत्रे र दुई किलोमिटर खण्डमा स्तरोन्नतिसहित सबबेस बिछ्याउने गरी ठेक्का लगाएको थियो । 

के हो कोल्ड मिक्स कालोपत्रे ?
सडक विभागका अधिकारीहरूका अनुसार कोल्ड मिक्स कालोपत्रे भन्नाले धेरै चिसो तथा उच्च हिमाली क्षेत्रका सडकमा दिगोपनाका लागि गरिने कालोपत्रेको प्रविधि हो । तापक्रम कम भएका ठाउँमा ६५ प्रतिशत इमोल्सन बिटुमिन र ३५ प्रतिशत पानीको मात्रा मिलाएर चिप्स मिसाई यो विधिबाट सडक कालोपत्रे गरिन्छ । यसरी इमोल्सन बिटुमिन, पानी र चिप्स मिसाई सबबेस र बेस हालेर रुलिङ गरिएको सडकमा कोल्ड मिक्स बिछ्याएपछि धेरैपटक पेल्नुपर्ने र त्यसपछि सडक बलियो हुने उनीहरूको तर्क छ । यसलाई तापक्रम आवश्यक पर्दैन, तर यो सडकमा भने उल्लेखित सामग्रीहरूको सम्मिश्रण नमिलेको वा पानीको मात्रा धेरै भएको हुन सक्ने बताइएको छ ।

  ०७३/७४ देखिकै रुग्ण ठेक्का 
 प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले व्यवस्थापन गरिरहेको उक्त सडकको ठेक्का संघीयता कार्यान्वयन हुनुअघि अर्थात् ०७३/७४ मा डिभिजन सडक कार्यालय चरिकोटले लगाएको थियो । तर, संघीयता कार्यान्वयन भएपश्चात् उक्त सडक बागमती प्रदेश सरकारअन्तर्गतको प्रादेशिक सडक डिभिजन  कार्यालय सिन्धुलीलाई हस्तान्तरण भएको थियो । सिन्धुली डिभिजनले पटकपटक म्याद थप गरी यही असार मसान्तभित्र सम्पन्न गर्ने गरी पदम लामा नेतृत्वको लामा कन्स्ट्रक्सनमार्फत काम गराइरहेको छ । सडकको गुणस्तरबारे प्रतिक्रिया लिन खोज्दा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क हुन सकेन । 

मातहतका निकायसँग छलफल गर्छौँ
फिल्म सिटी निर्माण अभियानका संयोजक कलाकार मदनदास श्रेष्ठले सडकमा भएको बेथिति तत्काल छानबिन गरी गुणस्तरीय सडक निर्माणका लागि मातहतका निकायहरूको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल प्रदेश भौतिक मन्त्रालय, सडक विभाग, चलचित्र विकास बोर्डलगायतका निकायहरूसँग छलफल गर्ने बताएका छन् ।  
 

सुझावित समाचार