मन्त्रीबाट बिदा हुँदै आलेले भने– म एक्सनमा विश्वास गर्छु, कामबाट ९० प्रतिशत सन्तुष्ट छु

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिँदै आठ महिना २० दिनको कार्यकालमा आफ्नो कामप्रति ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत राजीनामा बुझाएपछि सिंहदरबारस्थित मन्त्रालयमा बिदाइ मन्तव्य दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । 
२२ असोज ०७८ मा मन्त्रीमा नियुक्त भएका आलेले आफ्नो कार्यकालमा भएका कामबारे पत्रकार सम्मेलनमार्फत जानकारीसमेत गराएका छन् । ‘मन्त्री भएपछि २ सय ६३ दिनसम्म समय बितेको पत्तो भएन । म प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता हुँ, मलाई चाँडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो सेवा प्रवाह उच्च प्राथमिकतामा राखेँ,’ मन्त्री आलेले भने, ‘पत्रकारले कार्यकालमा आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर प्रश्न सोध्नुभयो भने मेरो उत्तर हुन्छ– नब्बे प्रतिशत । मैले कामबाट ९० प्रतिशत नम्बर ल्याएको ठानेको छु ।’

उनले अहोरात्र काममा खटिएकै कारण आफूले देश विदेशबाट एक्सन मन्त्री उपमा पाएको दाबीसमेत गरे । ‘कागजमा मात्र काम देखाउनेहरू मेरो निगरानीमा परे,’ उनले भने ।
 
पशुपति धर्मशाला, क्यासिनो बक्यौता असुल, नागरिक उड्डयन प्राधिकरण, एनएसी (नेपाल वायुसेवा निगम) को सुधार गर्दा शक्ति केन्द्रहरूबाट थुप्रै दबाब र प्रलोभन आए पनि त्यसलाई प्रवाह नगरी प्रचलित कानुन, प्रधानमन्त्रीको निर्देशन, पार्टी अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत गठबन्धन सरकारको मार्गदर्शनमा क्रियाशील रहेको उनको भनाइ थियो ।  
आफ्नो कार्यकालमा त्रिभुवन विमानस्थल सुधार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत थुप्रै काम गरेको सूची उनले पत्रकार सम्मेलनमा राखे । 

'बोल्न जानिनँ होला तर नियत गलत थिएन' 
असभ्य शब्द बोलेको अडियो बाहिरिएर पटक–पटक विवादमा तानिएका मन्त्री आलेले आफूले जानाजान गलत नियतले केही पनि नबोलेको दाबी गरे । ‘काम गर्दै जाँदा बोल्न नजानेको भए नियत गलत थियो भन्ने नठान्नुहोला । म सिंहदरबारबाहिर सांसदको भूमिकामा हुन्छु, विकृतिमा खबरदारी गरिरहन्छु, पछि आउने नेतृत्वले पनि मेरो सुधारलाई निरन्तरता देओस्,’ आलेले भने ।

सुझावित समाचार