लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमलाकुमारी खत्री (वली)को घटनामाथि छानबिन गर्न बनेको टोली दाङ आएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको छ । मन्त्री शर्मा मंगलबार राति नै तुलसीपुर आएका हुन् भने घर्ती र सुवेदी बुधबार बिहान तुलसीपुर आएका हुन् ।
उनीहरूले बुधबार प्रहरी र परिवारका सदस्यसँग छलफल गर्नेछन् । अनुसन्धानका क्रममा खटिएका सबै प्रहरी, एकराज बस्नेत, उनकी श्रीमती, बुबा, दाइलगायतका परिवारका सदस्यसँग कुराकानी गर्नेछन् । त्यसपछि आवश्यकताअनुसार सम्बन्धित अन्य व्यक्तिहरूसँग छलफल गर्नेछन् ।
यस विषयमा छानबिन गरी प्रतिवेदन तयार पारेर प्रदेश मन्त्रिपरिषदमा पठाउने मन्त्री शर्माले बताए । ‘हामीले छानबिन गरेर प्रतिवेदन तयार गरेर मन्त्रिपरिषदमा पठाउछौँ,’ उनले भने, ‘त्यसपछि यसमा सरकारले आफ्नो धारणा बनाउँछ ।’
बजेट पनि पारित गर्नुपर्ने भएकाले छिटो प्रतिवेदन तयार पार्नतर्फ छानबिन समितिको टोली लागिरहेको छ । राज्यमन्त्री वलीले केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतसँग आफ्नो कारोबार भएको भन्दै घरमै गएकी थिइन् । एकराजले ३५ लाख रकम सापटी लिएको र अहिलेसम्म नदिएको भन्दै त्यो रकमका विषयमा छलफल गर्न घर गएको विमलाले बताएकी छिन्। र, तुलसीपुर ५ बसपार्कस्थित घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी श्रीमतीसँग हात हालाहालको अवस्था भएको थियो । एकराजकी श्रीमती मीना बस्नेतले आफूमाथि हातपात गरेको भनी आरोप लगाएकी थिइन् । राज्यमन्त्री वली हाल बुटवल छिन् । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न मन्त्री शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।