२२० केभी मर्स्याङ्दी–काठमाडौं डबल सर्किट प्रसारण लाइन सञ्चालनमा

शनिबार, ४ असार, २०७९
डिजिटल संस्करण

मर्स्याङ्दी–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा आएको छ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउनका लागि यो प्रसारण लाइन निर्माण गरिएको हो । 

तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्की चोकबाट काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन एक सय ३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । यो प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

हाल चालू रहेको मर्स्याङ्दी–स्युचाटार एक सय ३२ केभी सिंगल सर्किट मात्रै थियो, जुन लाइनबाट एक सय मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुन सक्दैनथ्यो । नयाँ प्रसारण लाइन सञ्चालनमा ल्याएसँगै करिब दुई सय मेगावाटसम्म विद्युत् काठमाडौंमा प्रवाह हुन सक्ने उनको भनाइ छ । 

प्राधिकरणका अनुसार भरतपुर–हेटौँडा एक सय ३२ केभी सिंगल सर्किट मात्रै भएकाले त्यहाँ पनि विद्युत् प्रवाहका लागि समस्या थियो । ‘कुलेखानी जलविद्युत् नचलेका वेला मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौं हुँदै हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौंतर्फ थप विद्युत् प्रवाह गराउन सकिन्छ,’ घिसिङले भने, ‘यो उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफ लाइन हो ।’ 

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग ठेक्का सम्झौता भएको थियो । ०७३ भदौदेखि निर्माण सुरु गरिएको प्रसारण लाइनमा तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा दुई सय ३३ टावर रहेका छन् । 

सुझावित समाचार