मुगुमा विद्यालय सञ्चालन भएको करिब महिनापछि बल्ल पाठ्यपुस्तक आइपुगेको छ । गत जेठ १ देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठ्यपुस्तक अभावमा अध्ययन–अध्यापन प्रभावित भएको थियो।
छायानाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्याएको छ । प्रादेशिक राजधानी सुर्खेत बिक्री डिपोबाट ढुवानी गरी पाठ्यपुस्तक गमगढीमा ल्याइएको हो ।
सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक विक्रेता जयलक्ष्मी भामले बताए। पुस्तक ढुवानीका लागि सम्बन्धित निकायलाई पटकपटक ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताए ।
जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा आवश्यक पुस्तक विक्रेताले छिट्टै पालिकास्तरमा पुर्याउने र वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।