विनासूचना डोजर सञ्चालन गर्दा ढुंगाले लागेर विद्यार्थीको मृत्यु

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

विद्यालय हिँडेको पाँच मिनेटमा डोजरको सिकार बने गगन

गुल्मीकाे मुसीकोट नगरपालिका– २ का १४ वर्षीय गगन रायमाझी बिहीबार झोला भिरेर घरबाट विद्यालय निस्किए । तर, १५ मिनेट हिँडेर पुगिने विद्यालय पुग्न सकेनन् । घरबाट निस्किएको पाँच मिनेट नहुँदै हुत्तिएर आएको डोजरले फालेको ढुंगाले लागेपछि उनको प्राण गयो । 

मुसीकोट नगरपालिका– ३ मा रहेको पृथ्वी माविमा कक्षा ९ मा पढ्ने गगन दुर्घटनामा परेको खबर हावाको वेगमा फैलियो । घरमा आमा कल्पना मुर्छा परिन्, बाबु हरिबहादुर ढुंगोजस्तै भए । उनका सहपाठी, शिक्षक र सँगै हुर्केका साथीसहित सिंगै गाउँ शोकमा डुब्यो । प्राणभन्दा प्यारो सन्तान गुमाउँदा मुर्छित आमाको अझै होस आएको छैन । बाबुको आँसु रोकिएको छैन । ‘गगनको चञ्चलता सम्झिएर विद्यालय बस्नै सकिएन । प्रिय साथी गुमायौँ,’ साथी निशान्त घिमिरेले भने, ‘परिवारमा अझ कति पीडा भएको होला ।’

गगन सधैँ साथीहरूसँग विद्यालय हिँड्थे । त्यस दिन पनि साथीहरूसँग नै थिए । तर, अरूभन्दा केहीअगाडि । एक्कासि डोजरले पल्टाएको ढुंगाले गगनलाई लाग्यो । उनी अचेत भएर सडकमा पल्टिए । साथीहरूले केही पर रहेकी शिक्षिका सम्झना कार्कीलाई खबर गरे । शिक्षिका हतारमा दौडिएर गगन ढलेको स्थानमा पुगिन् । सबै जम्मा भए । केहीबेरमै आफन्तले उपचारको आसमा गुल्मी अस्पताल पु¥याए । तर, गगन फर्किएनन् ।

त्यस खण्डमा मुसीकोट नगरपालिका– ३ धारापानी हुँदै पृथ्वी मावि पढ्न आउने विद्यार्थीको घुइँचो हुन्छ । विद्यार्थी आउजाउ गर्ने समयमा डोजर चलाउनैपर्ने कुनै कारण नभएको स्थानीय बताउँछन् । त्यही खण्डमा पर्ने रातडाँडा–मुसीकोट–मैदान–नेटा सडकको निर्माण कार्यमा केही अघिसम्म डोजरहरू प्रयोग हुने गर्थे । तर, ठेक्का सम्झौता सकिएकाले अहिले निर्माण कार्य रोकिएकाले डोजर चलाउनुपर्ने कारण थिएन भन्ने स्थानीयको भनाइ छ । निर्माण व्यवसायीले समयमै काम गर्न सकेका छैनन् । ठेकेदार म्याद थपको प्रक्रियामा लागेका छन् । गत चैतमै ठेक्काको म्याद सकिए पनि ग्राभेलपछि नाली व्यवस्थापनको काम गरिरहेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सागर मरासिनीले बताए । 

घटनापछि डोजरचालक शेरबहादुर विक फरार भएका छन् । गगनका बुबा हरिबहादुरले छोराको ज्यान पैसासँग नसाट्न प्रहरी तथा प्रशासनसँग आग्रह गरेका छन् । विनालाइसेन्स र विनासूचना डोजर सञ्चालन गर्ने चालक र निर्माण व्यवसायीलाई हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘अब मेरो छोरो फर्किंदैन । निर्माण व्यवसायीको लापरबाहीविरुद्ध सबै बोल्दिनुप¥यो,’ उनले नयाँ पत्रिकासँग रुँदै भने, ‘पैसाले दोषी उम्किए छोरोको आत्माले शान्ति पाउँदैन । कडा कारबाही होस् ।’ 

जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी माधवराज खरेलले वडागाउँको घटनामा चरम लापरबाही देखिएको बताए । उनले सूर्य कन्स्ट्रक्सनका निर्माण व्यवसायी बोमबहादुर भाट र लु.२क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए । चालक फरार रहेकाले सवारीचालक लाइसेन्स भए–नभएको खुल्न नसकेको उनले बताए । 
 

सुझावित समाचार