बाढीबाट यस वर्ष बाँकेका ५० हजार व्यक्ति प्रभावित हुने आकलन

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण
बाढीबाट यस वर्ष बाँकेका ५० हजार व्यक्ति प्रभावित हुने आकलन

प्रतिकात्मक तस्बिर ।

यस वर्ष बाढीबाट बाँकेका करिब १० हजार घरपरिवारका ५० हजार सर्वसाधारण प्रभावित हुने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले अघिल्लो वर्षको तुलनामा बढी वर्षा हुने आकलन गरेपछि जिल्ला विपत् व्यवस्थापन समितिले बाढीबाट जिल्लाका ५० हजार व्यक्ति प्रभावित हुन सक्ने पूर्वानुमान गरेको सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।

बाँकेमा राप्ती, डुडुवा, मान, परुवालगायतका खोला तथा नदीमा आएको बाढीले क्षति पुर्याउँदै आएको छ। ज्ञवालीले राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडा बाढीको जोखिममा रहेको बताए। त्यसैगरी, डुडुवा गाउँपालिकाको १, २, ३ र ४ राप्तीमा आउने बाढीको उच्च जोखिममा रहेको उनले बताए। कोहलपुर नगरपालिकाका बासिन्दाहरू डुडुवा खोलाको बाढीबाट प्रभावित हुँदै आएका छन् भने बैजनाथमा मानखोला र खजुरा गाउँपालिकाका बासिन्दा मानखोला, किरण नाला र पेडारी नालामा आउने बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ।

बाढी जोखिम क्षेत्रको नक्सांकन गरी जिल्लाको विपत् पूर्वतयारी गरिएको सूचना अधिकारी ज्ञवालीले बताए। जिल्लामा हुने विपत् न्यूनीकरण गर्न पूर्वतयारी तथा  प्रतिकार्य योजना २०७९ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत स्वीकृत गरेको उनले जानकारी दिए।

मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपतकाे  खोज तथा उद्धारमा प्रयोग हुने सामग्री प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा प्रदेश सरकार, सबै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा ६ असारको  बिहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुने आकलनअनुसार सबै सुरक्षा निकाय र विषयगत समितिलाई तयारी अवस्थामा राखेको बताए।

बाढीजन्य विपतबाट उच्च जोखिमयुक्त क्षेत्र, परिवारसंख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपतमा प्रयोग हुने स्रोत, साधन, जनशक्तिको  अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपत् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फाराम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने र पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय भएको उनले बताए।

See More On

सुझावित समाचार