विपतजन्य घटना र क्षति न्यूनीकरणमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण
विपतजन्य घटना र क्षति न्यूनीकरणमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

फाइल फाेटाे ।

प्रतिनिधिसभाका सांसदहरूले मनसुन सुरु भइसकेकाले विपतजन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतका विपत् प्रभावितले अझै राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भएकोतर्फ ध्यानाकर्षण गराए।

सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लामा भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे।

अर्का सांसद दीपकप्रकाश भट्टले गत वर्ष महाकालीमा आएको बाढीले त्यस आसपासका धेरै क्षेत्रमा क्षति पुर्याएको भए पनि राहत नपाएको गुनासो गरे। उनले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग आग्रह गरिन्।

सुझावित समाचार