बाँकेका आठवटा स्थानीय तहमध्ये चारवटाको कार्यपालिकामा नेपाली कांग्रेसले जितेको छ। नरैनापुर, बैजनाथ, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा कांग्रेसले पूर्ण बहुमतसहित कार्यपालिका जितेको छ ।
एमालेले भौगोलिक हिसाबले जिल्लाको सबैभन्दा ठूलो पालिका राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका जितेको छ । एमालेले राप्तीसोनारीमा पाँचवटा वडामा प्यानलसहित जितेकोले कार्यपालिका निर्वाचनमा पनि एक्लैले जितेको हो । राप्तीसोनारीको कार्यपालिकामा एमालेको पूर्ण बहुमत भएको छ। राप्तीसोनारीमा अध्यक्ष र उपाध्यक्ष मात्र कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले तीन र राप्रपाले एक वडा जितेको छ ।
खजुरा गाउँपालिकाको कार्यपालिका निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । त्यहाँ कांग्रेसले र माओवादी केन्द्रले तीन–तीन जना सदस्य लिएका छन् ।
त्यसैगरी, डुडुवा गाउँपालिकामा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएपछि कांग्रेस अल्पमतमा परेको छ । कांग्रेसले त्यहाँ अध्यक्ष, उपाध्यक्ष र एउटा वडा जितेको छ । नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित दुईवटा वडा जितेको जसपा पनि अल्पमतमा परेको छ । शुक्रबार सम्पन्न कार्यपालिका निर्वाचनमा कांग्रेसले ६ वटै सदस्य जितेको छ ।
नेपालगन्जमा कांग्रेसले मेयर जितेको छ । तर, यहाँ पनि कांग्रेस अल्पमतमा परेको छ । कांग्रेसले यहाँ पाँच वडा जितेको छ । कार्यपालिका निर्वाचनमा माओवादी केन्द्र र राप्रपासँग तालमेल गरे पनि कार्यान्वयन नभएपछि जसपाका तीनजना सदस्य विजयी भएका छन् । जसपाले एमालेसँग तालमेल गरेको थियो । जसपाका उम्मेदवार विजयी भए पनि एमालेका कुनै पनि जित निकाल्न सकेनन् ।
बाँकेमा नेपाली कांग्रेसले पाँचवटा पालिका जितेको छ । नेपालगन्जमा मेयर र खजुरा गाउँपालिकामा उपाध्यक्ष जितेको कांग्रेसको जिल्ला समन्वय समितिमा एकल बहुमत पुगेको छ । कुल १६ मतमध्ये कांग्रेससँग १२ मतदाता रहेका छन् । जिससको निर्वाचनमा कांग्रेसले अन्य दलसँग तालमेल गर्ने सम्भावना नरहेको कांग्रेसका एक नेताले बताए ।