सरकारले दोलखामा निजी–सार्वजनिक साझेदारी अवधारणामा फिल्म सिटी निर्माण गर्ने भएको छ । भीमेश्वर नगरपालिका–९ स्थित डाङडुङे डाँडामा निर्माण हुने फिल्म सिटी सरकारले निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको हो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले सदनमा प्रस्तुत गरेको बजेटअनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने उल्लेख गरे ।
शर्माले फिल्म तथा गीतसंगीतका सर्जकलाई सम्मान गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । अघिल्ला सरकारका बजेटमा पनि दोलखामा फिल्म सिटी निर्माण गर्न सामान्य बजेट विनियोजन भए पनि योपटक भने निजी–सार्वजनिक साझेदारीमा निर्माण गर्ने सरकारको घोषणाले दोखावासीमा निकै उत्साह छाएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले बताए । चलचित्र नगरी निर्माणस्थल डाङडुङे डाँडासम्म पुग्ने सडक कालोपत्रे भइसकेको छ भने सो ठाउँमा विद्युत् र खानेपानी, प्रवेशद्वारलगायतका संरचना निर्माण भइसकेका छन् ।
सरकारले राम्रो काम गर्यो : मदनदास श्रेष्ठ, अभियन्ता
डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने अभियानका अभियन्ता एवं फिल्म सिटी निर्माण समन्वय समितिका संयोजक कलाकार मदनदास श्रेष्ठले फिल्मी क्षेत्रको विकासका लागि सरकारले निकै राम्रो काम गरेको बताए । उनले विगतका सरकारको उपेक्षामा परेको फिल्म सिटी अब दोलखामा निर्माण हुनेमा विश्वस्त रहेको बताउँदै फिल्मी क्षेत्रको विकासले सिंगो समाज विकास हुने जनाए ।