सरकारले काठमाडौं र चितवनको सडक दुरी एक घण्टा मात्र हुने गरी सडक निर्माण गर्ने बताएको छ ।
आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्ने गरी चन्द्रागिरि, चित्लाङ्ग, पालुङ्ग, चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने बताए ।
दोस्रो चरणमा चितवन, रामपुर, पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अघि बढाइने बताए । बजेटमा पूर्वपश्चिम राजमार्ग बिस्तारलगायतका योजनासमेत समावेश गरिएको छ । यस्तै, नारायणी नदीमा बहुउद्धेश्य सिंग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ ।