पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरूले निगमको टेकुस्थित कार्यालयको मूलगेटमा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए ।  

रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको उनीहरूले बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । निगम घेराउ कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरूले जनताको कर ‘एसी गाडीमा झन्डा हालेर हिँड्नका लागि नभएको’ भन्दै राज्यले जनतामाथि परिरहेको संकटको वेलामा अभिभावकत्व लिनुपर्ने बताए । पार्टीमा लागेकै भरमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने उनीहरूले बताए । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनै पनि हिसाबले ठीक नभएको संयुक्त विद्यार्थी संगठनको भनाइ छ । सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन विरोधका कार्यक्रम थप सशक्त बनाउँदै जाने चेतावनीसमेत उनीहरूले दिएका छन् । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए । उनीहरूले आयल निगमले ३३ अर्ब घाटा भनेको, तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोपसमेत लगाए ।

प्रदर्शनकारीहरूले ‘गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, ‘अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार’, ‘आयल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद’ जस्ता नारा लगाएका थिए । 

सरकारले गत आइतबार रातिबाट लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । हाल पेट्रोल प्रतिलिटर रु. १८०, डिजेल र मट्टीतेल रु. १६३, आन्तरिक हवाईमा एक सय ६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्याइएको छ । 

सुझावित समाचार