यौन दुर्व्यवहार अभियोगमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण
यौन दुर्व्यवहार अभियोगमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

यौन दुर्व्यवहार आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै गौशाला प्रहरी कार्यालयअगाडि नाराबाजी गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी ।

छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्सका दुई शिक्षकविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । विद्यालयमा अध्ययनरत छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाले शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो । पक्राउपछि दुवैविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेको हो । 

अधिकारी र पौडेलविरुद्ध तीन छात्राले गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले पक्राउ परेका दुई अभियुक्तविरुद्ध पाँच दिनको म्याद थप भएको बताए । ‘बाल यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका दुईजनाविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । उनीहरूले छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको बुझिएको छ । घटना सम्बन्धमा अनुसन्धान जारी छ,’ उनले भने ।

यौन दुर्व्यवहारपछि शिक्षकविरुद्ध विद्यालयका छात्रछात्रा विद्यालय पोसाकमै विरोधमा उत्रिएका थिए । गौशालास्थित प्रहरी वृत्त अगाडि धर्नामा उत्रिएका उनीहरूले शिक्षकबाट पटक–पटक यौन दुर्व्यवहारमा परेको बताएका छन् । विद्यार्थीका अनुसार अधिकारीले विद्यालयका एक छात्रालाई ‘स्कर्ट’मा सेक्सी देखिने, ‘विल यु बी माई बेड पार्टनर ?’, ‘कलेजको शुल्क तथा बस भाडा मिलाइदिने’, लगायतका प्रस्ताव गर्दै आएका थिए । 

‘जनार्दन सरले हाम्रो एक साथीसँग यौन सम्बन्धका लागि अफर गरेका रहेछन् । स्कर्टमा सेक्सी देखिने भनेका रहेछन् । अन्य केटाहरूसँग बोल्दासमेत हप्काउँदा रहेछन् । प्रस्ताव स्वीकार गरे फी मिलाइदिने, बस भाडा मिलाइदिनेजस्ता कुरा गर्दारहेछन्,’ आन्दोलनमा सहभागी एक छात्राले भनिन् ।

जनार्दन कक्षा ११ र १२ का व्यवस्थापन संकायका संयोजक हुन् । आफ्ना साथीमाथि यौन दुर्व्यवहार गरेको सूचना पाएपछि छात्राहरूले केही महिनाअघि नै विद्यालय प्रशासनमा जानकारी गराएका थिए । तर, विद्यालय प्रशासनले कारबाही गर्नुको सट्टा उल्टै शिक्षकलाई संरक्षण गर्दै आएका थिए । अजित भएपछि आन्दोलनमा उत्रिनुपरेको एक छात्राले बताइन् । ‘जनार्दन सरको हर्कत पहिलेबाटै शंकास्पद थियो । हामीले प्रशासनमा उजुरी पनि गरेका थियौँ । तर, प्रशासनले उनलाई कारबाही गरेन । उल्टै संरक्षण गर्नेतर्फ उन्मुख भएको देखियो । उनको हर्कत नरोकिएपछि आन्दोलनमा उत्रिनुपरेको हो,’ उनले भनिन् ।

अधिकारीविरुद्ध सुरुमा कक्षा ११ मा अध्ययनरत एक छात्राले यौन हिंसा परेको पीडा सार्वजनिक गरेकी थिइन् । प्रहरीमा उनले नै पहिलोपटक किटानी जाहेरी दिएकी हुन् । त्यसपछि उनका अन्य दुई साथीले पनि अधिकारीविरुद्ध जाहेरी दिएका हुन् । कक्षा १२ मा अध्ययनरत छात्रामाथि पनि अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीको सम्पर्कमा पुगेकी छिन् । तर, उनले किटानी जाहेरी दिएकी छैनन् । 

सुझावित समाचार