उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाऊ भन्न सक्ने अवस्था नरहेको बताएका छन्। मंगलबार १५ विद्यार्थी संगठनले संयुक्त रूपमा बुझाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री बडूले यस्तो प्रतिक्रिया दिएका हुन्।
आयल निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेको भन्दै उनले पेट्रोलियम पदार्थको मूल्य घटाऊ भन्न नसकिने उनको तर्क थियो। मन्त्री बडूले अझै पनि निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय ७९ रुपैयाँ ७५ पैसा घाटा व्यहोरिरहेको बताए।
उनले विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै त्यसका निम्ति सरकार लागिरहेको बताए।
‘नेपाल आयल निगमले २० अर्ब ४० करोड रुपैयाँ इन्डियन आयल कर्पोरेसनलाई तिर्न अहिले पनि बाँकी रहेछ। र, अहिले पनि हरेक दिन ६ अर्ब ७१ करोड रुपैयाँ घाटा भइरहेको छ। अहिले १० रुपैयाँ एकपटक, १० रुपैयाँ अर्कोपटक पनि बढाएको छ,’ उनले भने, ‘तर, यसका बाबजुद पनि अहिले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ। त्यसकारण यो अवस्थामा सरकारले पनि यतिवेला चाहेर पनि घटाऊ भनेर निगमलाई भन्न सक्ने अवस्था रहेन।’
मन्त्री बडूले पेट्रोलियम पदार्थमा लागेको करको दायरामा केही छुट दिनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पुगेको पनि बताए। उहाँले नेपाल र भारत सीमामा भएको मूल्यको असमानतालाई समायोजन गरिने बताए।