वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि छोरालाई टिकट

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका– १७ मा एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनैका छोरालाई टिकट दिइएको छ। २८ वर्षीय कान्छा छोरा प्रदीप चौधरीलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको छ। चौधरीले बुधबार दिउँसो साढे १२ बजेतिर उम्मेदवारी दर्ता गराएका छन्।  

उनले तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, एमाले दाङका अध्यक्ष हुकुम बस्नेतसहित पार्टीका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्तापछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै आफूले बुबाको सपना पूरा गर्ने बताए । ‘बुबाले आफ्नो रोग लुकाएर भए पनि जनताको सेवामा खटिनुभयो,’ उनले भने, ‘अहिले पार्टीले मलाई बुबाको सपना पूरा गर्ने जिम्मेवारी दिएको छ, मैले सपना पूरा गर्नेछु।’ 

यसअघि पनि लबरु सोही वडाको वडाध्यक्ष निर्वाचित भएका थिए। उम्मेदवारी दिएको केही दिनमा नै बिरामी परेका लबरूलाई तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको थियो। कोहलपुरमा उपचारपछि केही दिन सञ्चो भएको थियो। तर, पुनः बिरामीले सताएपछि उपचारको क्रममा काठमाडौं टिचिङ अस्पताल लगिएको थियो। टिचिङ अस्पताल लगेको दुई दिनपछि सोमबार राति लबरूको मृत्यु भएको हो। 
 

सुझावित समाचार