जनप्रतिनिधि छान्न आतुर छन् ज्येष्ठ मतदाता

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण
जनप्रतिनिधि छान्न आतुर छन् ज्येष्ठ मतदाता

झापाको कमल गाउँपालिका– ५ सिम्लेकी रिठुमाया लिम्बू । कमल गाउँपालिका– ५ कै ७० वर्षीया मनमाया लिम्बू

तर, गाउँ एकातिर, मतदान केन्द्र अर्कोतिर हुँदा पुग्नै मुस्किल

कमल गाउँपालिका–५ सिम्लेकी ७० वर्षीया मनमाया लिम्बु ३० वैशाखमा हुने मतदानमा सहभागी हुन आतुर छिन् । तर, मतदान केन्द्र टाढा हुँदा बुढेसकालमा सास्ती खेप्नुपर्ने पिरलो पनि छ । मतदाता नामावलीमा उनको नाम मंगलमय मावि पाडाजुंगी केन्द्रमा छ । गाउँबाट त्यहाँ पुग्न करिब दुई घन्टा लाग्छ । उनको गाउँ सिम्लेकै सहिद रत्न आधारभूत विद्यालयमा पनि यसैपालिबाट मतदान केन्द्र राखिएको छ । तर, उनीलगायत करिब ६० मतदाताको नाम सो केन्द्रमा छैन । प्राविधिक कारणले नाम छुटेपछि मनमायाजस्ता पाका र असहाय मतदाताले मत जाहेर गर्न सास्ती पाउने भएका छन् । 

विगतका निर्वाचनमा पनि मनमायाले पाडाजुंगी पुगेर मत हाल्दै आएकी थिइन् । यसपटक उनको गाउँ सिम्लेमा नयाँ मतदान केन्द्र त थपियो, तर उनको नाम समावेश भएन । ‘पहिले–पहिले निकै गाह्रो गरेर पाडाजुंगी पुगेर मत हालेर आउँथ्यौँ । यसपटक त यहीँ हुने भयो भनेर खुसी थिएँ,’ मनमायाले नयाँ पत्रिकासँग भनिन्, ‘मेरो नाम यहाँ छैन रे, फेरि पाडाजुंगी नै पुग्नुपर्ने भयो ।’ मनमायालाई बुढेसकालले छोएको छ । उनी बिरामी पनि छिन् । ‘पहिला पनि चुनावको दिन गाडी चल्दैनथ्यो । यसपटक पनि चल्दैन भनेको सुनेकी छु,’ उनले भनिन्, ‘अब त बुढी भएँ । बिरामी छु । हिँडेर जान मुस्किल पर्छ । कसरी भोट हाल्ने होला भन्ने चिन्ता छ ।’

पाँच वर्षअघिको चुनावमा सिम्लेकी रिठुमाया लिम्बुलाई बाढी आएको चाँजु खोला कम्मर–कम्मर तरेर भोट दिन गएको सम्झना ताजै छ । यसपटक गाउँमै मतदान केन्द्र आएपछि खुसी भएकी उनी लिस्टमा नाम नभेटेपछि निराश बनेकी छन् । 

विगतमा गाउँ नै जाँदा विकल्प धेरै थिए । तर, यसपटक केही मात्र जाँदा समस्या हुने उनी बताउँछिन् । ‘पाँच वर्षअघि पनि जोखिम मोलेर खोला तरेर भोट हाल्न गएका थियौँ । भोटको दिन गाडी पनि चल्दैन । त्यो वेला पो सबैजना थियौँ । जसरी पनि गयौँ,’ उनी भन्छिन्, ‘यसपटक त थोरै हुने भयौँ, कसरी जाने हो ! रेडियोले चुनावका दिन पानी पर्छ भन्दै थियो । पानी आयो भने त खोलामा बाढी आउँछ । रतुवा खोलाको पुल तरेर दमकबाट जाँदा त तीन घन्टाभन्दा धेरै हिँड्नुपर्छ ।’

रतुवा नदीदेखि उत्तरमा रहेको यो गाउँ इलामको चुलाचुलीसँग जोडिएको छ । विकासको दृष्टिकोणले पछि परेको यो गाउँका करिब तीन सय घर धनीपुर्जाविहीन छन् । प्रत्येक चुनावमा धनीपुर्जा दिने कुरा चुनावी नारा बन्छ । तर, चुनाव सकिएसँगै नारा पनि सेलाउँछ । सहिद रत्न आधारभूत विद्यालयमा ५३२ जनाले मतदान गर्दै छन् । सिम्लेका करिब ६० जनाको भने त्यो मतदान केन्द्रमा नाम पर्न सकेको छैन । ‘कसरी हाम्रो नामचाहिँ सिम्लेमा परेन, जानकारी नै छैन । हामीले त एक–दुई दिनअगाडि मात्र थाहा पायौँ,’ स्थानीय युवा सुनील लिम्बुले भने, ‘हाम्रो नाम किन छुट्यो भनेर निर्वाचन कार्यालयमा जाँदा जनप्रतिनिधिलाई जानकारी दिएको थियो भन्छन् । जनप्रतिनिधिले हामीलाई जानकारी नै दिएनन् । अब सच्याउन पनि नमिल्ने रहेछ । हामी युवालाई त ठीकै छ, वृद्धवृद्धा र अशक्तलाई कसरी मत हाल्न लैजाने भन्ने चिन्ता छ ।’

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले सिम्लेका जनतालाई मत हाल्न टाढै भएका कारण नयाँ मतदान केन्द्र स्थापना गरिएको बताए । उनले जनप्रतिनिधिको सहयोगमा उक्त केन्द्रमा मतदाताको नाम राखिएको, तर जनप्रतिनिधिले सबैको नाम नदिँदा छुटेको बताए । ‘हामीले त्यहाँको जनतालाई दुःख नहोस् भनेर नै केन्द्र थपेका हौँ । मतदाता नामावलीमा कमल–५ मात्र भएकाले त्यहाँका जनता को–को हुन् भन्ने जानकारी थिएन । जनप्रतिनिधिलाई राखेर छुट्याउन भनेका हौँ,’ उनले भने, ‘जनप्रतिनिधिले सबैको नाम नदिँदा छुटेको हो ।’ उनले मतदानको दिन जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको सवारी पासमा निर्वाचन अधिकृतको कार्यालयले पाडाजुंगी मतदानस्थल पर्ने नागरिकलाई मतदानस्थलसम्म पु¥याउने प्रतिबद्धता जनाए ।

See More On

सुझावित समाचार