जिल्लाको नेपाल भारत सीमाक्षेत्रबाट लाखौँ मूल्यबराबरको सुनसहित एकजना पक्राउ परेका छन् । सर्लाहीको मलंगवास्थित टावर चोकबाट सशस्त्र प्रहरीको टोलीले १३ तोला १७३ लाल सुनसहित एकजनालाई पक्राउ गरेको हो ।
शुक्रबार सुनसहित जिल्लाको लालबन्दी नगरपालिका–४, निवासी मिसरान अन्सारी पक्राउ गरेको सशस्त्र प्रहरी १० नम्बर गणका सूचना अधिकारी डिएसपी दीपेन्द्र थापाले जानकारी दिए ।
सीमाक्षेत्रस्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले अन्सारी सवार ना २३ प ४४२७ नम्बरको मोटरसाइकल शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट सुनका गरगहना र एकथान सुनको बिस्किट बरामद भएको प्रहरीले जनाएको हो ।
प्रहरीले बरामद सुन, अन्सारी र उनी सवार मोटरसाइकलसमेतको बजार मूल्य १३ लाख ९७ हजार ५ सय ४१ कायम गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।