अर्जुन वर्णवाल वीरगन्जमा आयोजित मिस्टर वीरगन्जमा पहिलोपटकमै च्याम्पियन बनेका थिए
एक दशकदेखि फिटनेस स्टुडियो नेपालका सञ्चालक अर्जुन वर्णवालको दैनिकी एउटै छ । बिहान झिसमिसेमै उत्तरढोकास्थित फिटनेस सेन्टर जाने र अबेर घर फर्किने । यसबीचमा उनलाई फिटनेस अनुभव बाँड्न भ्याइनभ्याई छ । अझ प्रतियोगिताआसपासमा त उनीसँग अन्य कुराकानी गर्ने फुर्सद नै हुँदैन । धर्मश्री प्रतियोगिताले अचेल उनको व्यस्तता झनै बढेको प्रस्ट देखिन्छ ।
बिहीबार हामी फिटनेस सेन्टरमा पुग्दा प्रशिक्षार्थी आदित्य ठाकुरलाई उनी फिटनेस टिप्स दिँदै थिए । ‘आदित्य वर्कआउट अलि मिलेन है,’ वर्णवाल भन्दै थिए, ‘प्रतियोगिताअघिसम्म सुधार गर्नैपर्छ ।’ वर्णवालले आदित्यलाई ध्यानपूर्वक यसरी प्रशिक्षण गराउनुको खास रहस्य खुलाए, ‘आदित्यलाई धर्मश्री प्रतियोगितामा राम्रोसँग उपस्थिति गराउनु छ ।’ नेपालको व्यक्तिगततर्फ सर्वाधिक धनराशीको शारीरिक सुगठन प्रतियोगिता धर्मश्री आज (शुक्रबार) देखि सुरु हुँदै छ । आदित्य पनि धर्म श्रीमा सहभागी हुँदै छन् ।
आदित्य ८० केजी तौलमाथि समूहमा प्रतिस्पर्धा गर्दै छन् । उनले धर्मश्रीका लागि लगातार तीन महिनादेखि वर्णवालसँग प्रशिक्षण लिइरहेका छन् । आदित्यले वर्णवाललाई प्रशिक्षक तथा मेन्टर बनाउनुको कारण हो, वर्णवाल स्वयं पनि धर्मश्री विजेता हुन् । २०७३ सालको संस्करणमा वर्णवालले धर्मश्री उपाधि उचालेका थिए । वर्णवालकै प्रशिक्षणमा मिलन सिजापति पनि २०७५ सालको संस्करणमा विजेता बनेका थिए । वर्णवालकै प्रशिक्षणमा धर्मश्रीमा उपाधि जित्ने लक्ष्य आदित्यले पनि राखेका छन् ।
‘गुरु वर्णवाल एक सफल बडिविल्डर तथा धर्मश्री विजेता हुनुहुन्छ,’ आदित्यले भने, ‘उहाँकै प्रशिक्षणमा धर्मश्रीमा केही उपलब्धि हात पार्ने लक्ष्य राखेको छु, हेरौँ कहाँसम्म सफल भइन्छ ।’ वर्णवालको प्रशिक्षणमा धेरै खेलाडीले नेपालमा आयोजना हुने शारीरिक सुगठनका उपाधि जितेका छन् । तर, ती शारीरिक सुगठन प्रतियोगितामध्ये धर्मश्री सबैभन्दा प्रतिष्ठित मानिन्छ ।
१६औँ धर्मश्रीमा पनि आफ्नो प्रशिक्षणमा रहेका खेलाडीले राम्रो स्थान ल्याउने वर्णवालको विश्वास छ । ‘मैले प्रशिक्षण गराएका धेरै खेलाडीले विभिन्न प्रतियोगिता जितेका छन्,’ एक प्रशिक्षकका रूपमा प्राप्त सफलता सुनाउँदै वर्णवालले भने, ‘सिजापतिले पनि मेरै प्रशिक्षणमा धर्मश्री जितेका हुन् ।’
च्याम्पियनसँगै जागिर चट
धर्मश्रीमा निरन्तर सहभागी हुने खेलाडीमध्ये वर्णवाल पनि पर्छन् । २०७३ मा धर्मश्री च्याम्पियन हुनुअघि उनले आफ्नो प्रयास जारी नै राखे । त्यसवेला धर्मश्रीमा सहभागी हुन उनले वीरगन्ज नगरपालिकाबाट अनुमति लिएरै काठमाडौँ आएका थिए । उनी वीरगन्ज नगरपालिकामा जागिरे थिए । वर्णवाल व्यायाम मन्दिरको क्लोज क्याम्पमा व्यस्त थिए । नगरपालिकाको एक अधिकृतले उनलाई हाजिर हुन आउन भने । वर्णवालले संघको चिठी र दैनिक हाजिर हुन नसक्नुको कारण उल्लेख गर्दै वीरगन्ज नगरपालिकालाई पत्र पठाए । ती अधिकृतले उनको चिठी बुझेनन् ।
९० दिन पुगेपछि नगरपालिकाले वर्णवालको जागिर खोस्यो । ‘खेलकुदका ज्ञान नभएका अधिकृतले मेरो जागिर नै खाए,’ दुःखी हुँदै उनले भने, ‘कारबाहीमा पर्छु भन्ने विश्वास नै थिएन ।’ धर्मश्री विजता बनेपछि वीरगन्ज नगरपालिकाले सम्मानका लागि बोलाएको थियो । तर, आफूलाई अपमानित गरेको नगरपालिकाको सम्मान लिन उनी गएनन् । उनले सम्मानपत्र लिन दाइलाई पठाए ।
‘सम्मानसँगै जागिरमा पुनर्वहाली भएको भए सम्मान लिन जान्थेँ होला, तर सोचेजस्तो भएन,’ उनले सम्मान थाप्न नजानुको कारण खुलाए । अहिले पनि वीरगन्जमा पुग्दा त्यो घटना मनमा आउने गरेको उनी बताउँछन् । ‘वीरगन्जको छोराले धर्मश्रीजस्तो उपाधि जित्दा गर्व लाग्छ, तर नगरपालिकाको कारबाही सम्झिँदा मन दुख्छ,’ मलिनो स्वरमा उनले भने, ‘जहाँ खेलाडीको मर्म र व्यस्था बुझिँदैन, त्यहाँ जानुको अर्थ नै के छ र ?’
शारीरिक सुगठनमा परिवर्तन

अहिले र पहिलाको शारीरिक सुगठनमा व्यापक परिवर्तन आएको वर्णवालले अनुभव गरेका छन् । पहिला केवल सौखका लागि शारीरिक सुगठन गर्नेहरू थिए । अहिले यसलाई पेसाको रूपमै लिन थालिएको छ । पहिला एउटा प्रतियोगितामा बढीमा ७० जना प्रतिस्पर्धी हुन्थे । अहिले एउटै समूहमा सयभन्दा बढीको भिडन्त हुन्छ । ‘हाम्रो समयमा जम्माजम्मी ६०–७० जना मात्र भाग लिन्थे । अहिले एउटै समूहमा सयजनासम्म प्रतिस्पर्धी हुन्छन्,’ उनले भने, ‘सबैजना राम्रो जिउ बनाएर आउँछन्, यसकारण प्रत्येक समूहमा कडा प्रतिस्पर्धा हुन्छ ।’
यसको क्रेज बढ्नुको पछाडि धर्मश्री नै भएको उनी मान्छन् । ‘धर्मश्रीमा एकपटक विजेता भइसकेपछि भविष्यमा धेरै अवसर पाइन्छ । यही कारण पनि बडिबिल्डिङको क्रेज बढेको जस्तो लाग्छ,’ वर्णवालको विश्लेषण छ ।
लोभलाग्दो जिउ बनाउने रहर गरेर मात्रै हुँदैन । त्यसमा सबैभन्दा ठूलो पक्ष डाइट हो । मानिसको जिउ तथा तौलअनुसार खानपिनमा ध्यान दिनुपर्ने उनको सुझाब छ । ‘जिउ मात्र बनाउने भन्ने हुन्न, यसमा दैनिक खानपिनको मात्रा मिलाउनुपर्छ,’ डाइटबारे उनको भनाइ छ, ‘यदि सही डाइट र न्युट्रिसनको मात्रा मिलेन भने मिहिनेत खेर जान्छ, यसकारण हरेक खेलाडीले यो पक्षमा होस पुर्याउनुपर्छ ।’
जुडोदेखि शारीरिक सुगठनको यात्रा
वर्णवाल शरीरिक सुगठनमा लागेको वर्षांै भइसकेको छ । फिटनेस सेन्टरमा आउने व्यक्तिको जिउ आकर्षक बनाउनु उनको पेसा बनेको छ । करिअरको पाना पल्टाउने हो भने वर्णवाल कुनै समय नेपालकै एक राम्रो जुडो खेलाडी थिए । उनले जुडोमा पहिलो डान प्राप्त गरेका छन् । जुडोमै उनले स्वदेश तथा विदेशमा थुप्रै पदक जिते पनि । उनी एकपटक दक्षिण एसियाली खेलकुद (साफ)लागि समेत छनोट भएका थिए । साफ प्रशिक्षणका क्रममा श्रीलंकामा सुनामी आयो । त्यसवेला श्रीलंकामा साफ खेल भएन । जसका कारण वर्णवालको साफ खेल्ने सपना अधुरै भयो ।
वर्णवालको शरीरको बनावट अति नै आकर्षक थियो । जुडोका गुरु राजेश कर्माचार्यले उनलाई शरीरिक सुगठनमा प्रयास गर्न सुझाब दिए । ‘अर्जुन तिम्रो जिउ अरूको भन्दा राम्रो छ, एकपटक शरीरिक सुगठनमा ट्राई गर्ने हो कि ?,’ करिब दुई दशकअघि गुरु कर्माचार्यको भनाइ उद्धृत गर्दै वर्णवालले भने, ‘बडिबिल्डिङमा स्ट्रेन्थ र फिजिक्स चाहिन्छ, जुन ममा थियो, यसकारण नै गुरुले मलाई यस विधामा जान हौस्याउनुभयो ।’
यसपछि उनले जुडोमा भन्दा बडिबिल्डिङतिरै ध्यान केन्द्रित गरे । वीरगन्जमा आयोजित मिस्टर वीरगन्जमा पहिलोपटकमै च्याम्पियन भए । ‘सामान्य तयारीमा म मिस्टर वीरगन्ज भएँ,’ शरीरिक सुगठनको पहिलो सफलताबारे उनी भन्छन्, ‘त्यसपछि म यसमै लोभिएँ, आज यहाँ आइपुगेको छु ।’