०७४ को निर्वाचनमा मेयरमा निर्वाचित कांग्रेसका चिरिबाबु महर्जन र निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारदेखि मालेका मोहनराज शाक्यसम्म पाँच वर्षपछि पनि आफैँ प्रतिस्पर्धामा
०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर ललितपुर महानगरको मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार तीन सय १६ पाएका थिए । एक लाख १२ हजार नौ सय २३ मतदातामध्ये ८७ हजार ४८ मत खसेको थियो । नजिकको प्रतिस्पर्धामा महर्जन र व्यञ्जनकारबीच हारजितमा मात्रै तीन सय २६ मतको अन्तर थियो । पाँच वर्षपछि ३० वैशाखमा हुन लागेको निर्वाचनमा पनि कांग्रेसका महर्जन र एमालेका व्यञ्जनकारदेखि मालेका मोहनराज शाक्यसम्म आफैँ प्रतिस्पर्धामा उत्रिएका छन् ।
अन्य महानगरमा जस्तै ललितपुरमा पनि ठूला दलहरू गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको पाँचदलीय गठबन्धनका साझा उम्मेदवार महर्जन छन् भने एमाले, राप्रपा नेपाल र नेपाल परिवार दलको गठबन्धनबाट व्यञ्जनकार मेयरका उम्मेदवार हुन् ।
महर्जन र व्यञ्जनकारबाहेक ललितपुरमा राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, आमुल परिवर्तन मसिहा पार्टी, मौलिक जरोकिलो पार्टी, विवेकशील साझा, नेमकिपा, नेकपा माले र जनमत पार्टीले पनि उम्मेदवार उठाएका छन् । निर्वाचन अधिकृतको कार्यालय ललितपुरका अनुसार मेयरमा १३ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १० जना दलीय उम्मेदवार छन् भने तीनजना स्वतन्त्र छन् ।
ललितपुर महानगरवासी तथा सम्पदाविद् दिलेन्द्र श्रेष्ठ धेरै मतदाता परम्परागत रहेकाले यहाँ ठूला राजनीतिक दलका उम्मेदवारका लागि चुनाव आफ्नो पक्षमा पार्न सहज हुने ठान्छन् । ‘यहाँ दलसँग नजिक भएर वर्षौँदेखि एउटै पार्टीमा भोट हालेका मानिस छन् । तलैसम्म दलका कमिटीहरू छन् । उनीहरूको प्रचारप्रसार पनि धेरै छ । त्यसैले मेयर–उपमेयर र वडाध्यक्षलगायतका पदमा ठूला दलहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ,’ उनले भने ।
तर, ०४९ को स्थानीय निर्वाचनमा ललितपुरबाट मेयर बनेका बुद्धिराज बज्राचार्य दलहरूले नागरिकलाई निराश बनाएको र आसन्न निर्वाचनको परिणामबारे यसै भन्न नसकिने बताउँछन् । तर, मतदाताका लागि विकल्प सीमित रहेको उनको बुझाइ छ । ‘कांग्रेस र कम्युनिस्टहरूप्रति मान्छेमा रुचि देख्दिनँ । अरूलाई पनि ठूलो भोट जान्छजस्तो लाग्दैन । मत कसका पक्षमा आउला भनेर भन्न गाह्रो छ । तर, प्रतिस्पर्धा रोचक हुने देख्छु,’ उनले भने ।
एमालेको विभाजन र पाँचदलीय गठबन्धनले दलहरूप्रति प्रतिबद्ध मतदाता पनि अन्योलमा रहेको बताउँछन्– ललितपुर महानगरकै मतदाता तथा महेन्द्र रत्न क्याम्पस, ताहाचलका प्राध्यापक नेत्र धिताल । ‘पहिलादेखि एउटै दलमा भोट दिएकाहरू पनि अहिले कसलाई मत दिने भनेर अकमकाइरहेका छन् । मतदातामा रहेको यस्तो अन्योलले ललितपुर महानगरमा विगतको जत्तिकै मत खस्ला भन्नेमा शंका छ,’ उनले भने ।
०७४ मा मेयरमा कांग्रेसका महर्जन र उपमेयरतर्फ कांग्रेसकै गीता सत्यालले जितेकी थिइन् । ललितपुरमा २९ वटा वडा छन् । त्यसमध्ये ०७४ मा कांग्रेस ११, एमाले १३, माओवादी चार, एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
०७४ मा ललितपुर महानगरमा उपमेयरतर्फ स्वतन्त्र उम्मेदवार रहेकी शोभा शाक्य सामाजिक क्षेत्रमा काम गरेको र परिचित मान्छेलाई निर्वाचनमा सहज हुने बताउँछिन् । ‘समाजमा राम्रो काम गरेको छ भने स्वतन्त्र उम्मेदवार भए पनि मत राम्रै आउँछ । ०७४ को निर्वाचनमा घरदैलोमा हिँड्दा मतदाताले मैले गरेका साना–साना सहयोग पनि सम्झिएर भोट दिन्छु भनेका थिए, त्यसैकारण राम्रो मत पनि ल्याएँ,’ उनले भनिन्, ‘खासमा ललितपुर महानगरवासीले आफूसँग घुलमिल भइरहेका उम्मेदवार खोज्दारहेछन् ।’
सम्पदाविद् श्रेष्ठका अनुसार ललितपुरमा दलहरूसँग निराश बनेका मतदाता पनि छन् । उनीहरूले दैनन्दिनका समस्या सम्बोधन गरिदिने प्रतिनिधि खोजिरहेको उनी बताउँछन् । ‘विगतमा उम्मेदवारहरूले ठूला–ठूला सपना देखाए । फ्लाइओभर, मोनोरेल ल्याउने आश्वासन दिए । त्यस्ता सपनाबाट स्थानीय दिक्क छन् । दलहरूसँग निराश बनेका मतदाता पनि छन् । त्यसकारण, जो दलप्रति कट्टर छैनन्, उनीहरूले आफ्नो दैनिक जीवनका समस्या सम्बोधन गर्ने प्रतिनिधि रोज्छन्,’ श्रेष्ठले भने ।
मतदाताले विकल्प खोजे पनि स्वतन्त्र उम्मेदवारी दिनेको संख्याचाहिँ अघिल्लो चुनावमा भन्दा कम छ । ०७४ को तुलनामा ०७९ मा स्वतन्त्र उम्मेदवार घटेका छन् । ०७४ मा मेयरतर्फ ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर अहिले तीनजनाको मात्र स्वतन्त्र उम्मेदवारी परेको छ । उपमेयरतर्फ भने ०७४ र ०७९ मा उही संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । ०७४ मा चारजनाले उम्मेदवारी दिएका थिए, अहिले पनि चारजना नै छन् ।
ललितपुर महानगरमा ०७४ भन्दा अहिले नौ हजार नौ सय ६७ मतदाता थपिएका छन् । ०७४ मा एक लाख १२ हजार नौ सय २३ मतदाता रहेकोमा अहिले एक लाख २२ हजार आठ सय ९० मतदाता पुगेका छन् । आयोगले चुनाव चिह्न ढिलो दिने र प्रचार–प्रसार गर्न नभ्याइने हुनाले मतदाता स्वतन्त्र उम्मेदवारबारे अनभिज्ञ हुने गरेको ०७४ मा ललितपुर महानगरमा उपमेयरतर्फ स्वतन्त्र उम्मेदवार दिएकी शाक्यको अनुभव छ । तर, दलहरूको संगठन गाउँगाउँमा हुने भएकाले दलका उम्मेदवारसँग मतदाता छिट्टै परिचित भएर भोट दिने गरेको उनी बताउँछिन् ।
स्वतन्त्र उम्मेदवारले पनि सम्मानजनक मत पाएको विगत छ । ०७४ को चुनावमा मेयरतर्फ स्वतन्त्र उम्मेदवारले १३ हजार नौ सय ६३ मत ल्याएका थिए । त्यसमध्ये सबैभन्दा धेरै मत रमेश महर्जनले १३ हजार चार सय ५८ मत ल्याएका थिए । दोस्रो धेरै मत प्रेमलाल महर्जनले तीन सय ६३ मत ल्याएका थिए । अन्य चारजनाले सय मत पनि कटाएका थिएनन् ।
उपमेयरमा स्वतन्त्र उम्मेदवारहरूले १४ हजार ६ सय ६२ मत ल्याएका थिए । त्यसमध्ये सबैभन्दा धेरै मत शाक्यले १४ हजार दुई सय ४० मत ल्याएकी थिइन् । कमलकुमार विष्टले तीन सय ३१ मत ल्याएका थिए । अन्य दुईजनाको मत सयभन्दा कम थियो ।
चुनाव जित्नै कठिन भए पनि स्वतन्त्र उम्मेदवारले सम्मानजनक मत पाउन सक्ने जानकारहरूको बुझाइ छ । सामाजिक कार्यमा संलग्न व्यक्तिहरू यसपटक स्वतन्त्र उम्मेदवार भएकाले उनीहरूको भोट राम्रो आउन सक्ने सम्पदाविद् श्रेष्ठको अनुमान छ । ‘अहिलेका स्वतन्त्र उम्मेदवार सामाजिक कार्यमा लाग्नेहरू छन्, उनीहरूले राम्रो भोट ल्याउन सक्छन् । तर, स्वतन्त्र उम्मेदवारलाई जित्न जटिल छ । किनकि ठूलो जनशक्ति चाहिन्छ । दलहरूको जस्तो संगठन र कार्यकर्ता उनीहरूस“ग छैनन्,’ उनले भने ।
स्वतन्त्रतर्फ मेयरमा सरिना लाखे जोशी, सुरेश महर्जन, राजेन्द्र थापामगरको उम्मेदवारी परेको छ । त्यस्तै, उपमेयरमा रत्न व्यञ्जनकार, सुविनकुमार थापा, राजन खड्का, अजरमान जोशीको उम्मेदवारी परेको छ । दलहरूप्रति मतदातामा रहेको अन्योलको लाभ स्वतन्त्र उम्मेदवारले लिन सक्ने देख्छन्, प्राध्यापक धिताल । तर, चुनाव जित्ने गरी उनीहरूले मत ल्याउन नसक्ने उनको भनाइ छ । ‘स्वतन्त्र उम्मेदवारलाई चुनाव जित्न गाह्रो हुन्छ । ललितपुर महानगरमा मात्र होइन, भरतपुर वा काठमाडौंमा पनि उनीहरूले थोरै मात्र भोट काट्ने हुन् । किनकि उनीहरूको प्रभाव कम हुन्छ,’ उनले भने ।
०७४ को तुलनामा ०७९ मा दलगत उम्मेदवारी भने बढेको देखिन्छ । मेयरमा ०७४ मा आठजनाको दलीय उम्मेदवारी थियो, ०७९ मा १० जनाको उम्मेदवारी छ । उपमेयरतर्फ ०७४ मा सातजनाकोे दलीय उम्मेदवारी थियो, ०७९ मा पनि सातजनाकै उम्मेदवारी छ । दलहरूतर्फ राष्ट्रिय जनमुक्ति पार्टीबाट सनिकपुर महर्जन, आमुल परिवर्तन मसिहा पार्टीबाट सपना महर्जन, मौलिक जरोकिलो पार्टीबाट सपना श्रेष्ठ, राप्रपाबाट अष्टबहादुर महर्जन, विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेबाट मोहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन, एमालेबाट व्यञ्जनकार, कांग्रेसबाट महर्जन, जनमत पार्टीबाट वासुदेव अमात्यले मेयरमा उम्मेदवारी दिएका छन् ।
यसैगरी राप्रपाबाट स्वर्णिमा शाक्य, नेमकिपाबाट ममिता श्रेष्ठ, एमालेबाट मञ्जली शाक्य, माओवादीबाट बाबुराजा बज्राचार्य, नेपाल सुशासन पार्टीबाट जानकी प्रधान श्रेष्ठ, नेकपा मालेबाट शर्मिस्ता श्रेष्ठ र जनमत पार्टीबाट कुसुम बज्राचार्यले उपमेयरमा उम्मेदवारी दिएका छन् ।