मनसुन सुरु नहुँदै त्रिविका आंगिक क्याम्पसमा बर्खे बिदा

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

विद्यार्थीको दबाब र शिक्षकको चाहनाअनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै २२ वैशाखदेखि १३ जेठसम्म बिदा दिने त्रिविको निर्णय

विद्यार्थीको दबाब र शिक्षकको चाहनाअनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसले मनसुन सुरु नहुँदै बर्खे बिदा दिएका छन् । उपत्यकाका अधिकांश क्याम्पसले वैशाख २२ देखि १३ जेठसम्म बिदाको सूचना जारी गरेका छन् । त्रिवि कार्यकारी परिषद्को गत १४ वैशाखमा बसेको बैठकको निर्णयअनुसार बिदा गरिएको सूचनामा उल्लेख छ ।

प्रा.डा. शिवलाल भुसाल रेक्टर, त्रिवि

अहिले बर्खे बिदा नदिए फेरि दिनुपर्ने हुन्छ, त्योभन्दा अहिले नै बिदा दिँदा राम्रो हुने सुझाव धेरैको आएकाले कार्यकारी परिषद्ले यस्तो निर्णय गरेको हो ।

यसपटक जेठ अन्तिम सातादेखि मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । त्रिविको वार्षिक क्यालेन्डरअनुसार पनि १५ जेठदेखि २३ दिन बर्खे बिदा दिने गरिएको थियो । यसपटक भने स्थानीय तहको निर्वाचनका कारण मनसुन सुरु नहुँदै वर्षे बिदा दिइएको हो । काठमाडौंका रत्नराज्य, त्रिचन्द्र, पब्लिक युथलगायतका क्याम्पसले बिदाको सूचना निकालिसकेका छन् । अरू क्याम्पसले पनि धमाधम सूचना जारी गर्दै छन् । 

विद्यार्थीले बिदा दिन दबाब दिएको र शिक्षकको पनि त्यस्तै चाहना रहेकाले वर्षे बिदा अघि सारिएको क्याम्पस प्रमुखहरूको भनाइ छ । पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले चुनावमा विद्यार्थी खटिइसकेको र केही दिन बिदा गर्नुपर्ने अवस्था रहेकाले वर्षे बिदालाई अघि सारेर २३ दिन बिदा गरिएको बताए । ‘धेरै विद्यार्थी भोट माग्न जिल्लामा गइसकेका छन्, यो समयमा पाँच–६ दिन त्यसै पनि बिदा गर्नुपर्ने अवस्था थियो, पछिको वर्षे बिदालाई अघि सारेका हौँ,’ उनले भने, ‘केही दिन बिदा गर्न विद्यार्थीको दबाब थियो, बिदा हुन्छ भन्ने बुझेर उनीहरू गइसकेका छन् ।’ 

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले पनि विद्यार्थी र शिक्षक चुनावमा जान खोज्ने भएकाले अहिले ६–७ दिन बिदा दिएर पछि फेरि वर्षे बिदा दिँदा धेरै दिन पठनपाठन नहुने भएकाले अहिले नै बिदा दिने निर्णय गरेको बताए । ‘अहिले वर्षे बिदा नदिए फेरि दिनुपर्ने हुन्छ, त्योभन्दा अहिले नै बिदा दिँदा राम्रो हुने सुझाव धेरैको आएकाले कार्यकारी परिषद्ले यस्तो निर्णय गरेको हो,’ उनले भने । त्रिविले आंगिक क्याम्पसहरूलाई आफ्नो अनुकूलता र परिस्थिति हेरेर केही दिन यताउता हुने गरी निर्णय गर्न सक्ने अधिकार दिएको छ । देशभरमा त्रिविका ६२ आंगिक क्याम्पस छन् । 

अब वर्षाको समय सुरु हुँदा विद्यार्थीको पठनपाठन सुरु हुनेछ । आंगिक क्याम्पसमा सञ्चालन भएका केही प्राइभेट कार्यक्रम भने निर्वाचन सकिएको केही दिनमै सुरु गर्ने तयारी छ । वार्षिक प्रणालीका कार्यक्रमको पठनपाठन भने १५ जेठसम्म बन्द हुनेछन् । 

निजी र सामुदायिक क्याम्पसले दिने बिदाको समयमा भने एकरुपता छैन । निजी तथा सामुदायिक क्याम्पस आ–आफ्नो अनुकूलता हेरेर बिदा दिने तयारीमा छन् । अधिकांश सम्बन्धनप्राप्त क्याम्पसले एक साताको हाराहारीमा बिदा दिने तयारी गरेका छन् । कतिपय क्याम्पसलगायतका शैक्षिक संस्था मतदानस्थल रहेको, विद्यार्थी चुनाव प्रचारमा र शिक्षक चुनावी काममा खटिएका कारण पनि केही दिन बिदा दिने तयारीमा छन् । 

विद्यार्थीले धानखेतीलगायतमा सघाउन नपाउने
विगतमा बर्खे बिदाको समयमा गाउँमा रोपाइँलगायतका कामको चटारो हुन्थ्यो । बिदामा घर पुगेका विद्यार्थीले रोपाइँलगायतका काममा सघाउने पनि गरेका थिए । तर, यसपटक भने रोपाइँ सुरु हुने वेलामा विद्यार्थीले क्याम्पसमा फर्कनुपर्ने भएको छ । देशका अधिकांश ठाउँमा १५ जेठपछि रोपाइँ हुने गरेको छ । 

See More On

सुझावित समाचार