मंगलबार राति १:३० बजेसम्म देशभर डेढ लाखभन्दा बढी उम्मेदवारी परेको निर्वाचन आयोगको अपडेट, प्रमुख पदहरूमा दलहरूका भन्दा स्वतन्त्र उम्मेदवार धेरै
स्थानीय निर्वाचनमा देशभर प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको धरौटी रकम मात्रै करिब साढे १० करोड जम्मा भएको छ । निर्वाचन आयोगले देशभरि परेका उम्मेदवारीको वेबसाइटमा अपडेट गर्ने क्रम जारी छ । मंगलबार राति १:३० बजेसम्म अपडेट भइसकेका एक लाख ५० हजार ९ सय २९ उम्मेदवारबाट मात्रै १० करोड ४३ लाख ४६ हजार धरौटी रकम जम्मा भएको छ । आयोगले सबै उम्मेदवारको एकीकृत तथ्यांक तयार नगरिसकेका कारण यो अंक अझै बढी हुनेछ ।
निर्वाचन आयोगले महानगर, उपमहानगर र नगरपालिकाका मेयर–उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको उम्मेदवारीबापत १५ सय धरौटी राख्ने व्यवस्था गरेको छ । त्यस्तै, वडाध्यक्षका लागि एक हजार र वडासदस्यहरूका पाँच–पाँच सय धरौटी तोकिएको छ । यस्तो रकम निर्वाचनपछि उम्मेदवारले फिर्ता पाउँछन् । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको भने धरौटी जफत हुने व्यवस्था छ । तर, दश प्रतिशतभन्दा कम मत प्राप्त गरे पनि निर्वाचित हुने उम्मेदवारको भने धरौटी जफत हुनेछैन ।
त्यसबाहेक मतपरिणाम घोषणा भएको ९० दिनभित्र सम्बन्धित उम्मेदवारले फिर्ता माग नगरेमा पनि आयोगले धरौटी रकम सञ्चित कोषमा दाखिला गर्नेछ । यसपटक मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष र वडासदस्यमा स्वतन्त्र उम्मेदवार अत्यधिक छन् ।
राति १ बजेसम्म मेयरमा ३४ सय ७४, उपमेयरमा २१ सय ३८, पालिका अध्यक्षमा ३३ सय ७८, उपाध्यक्षमा २३ सय ९२ र वडाध्यक्षमा ३४ हजार ९ सय ९९ को उम्मेदवारी परेको आयोगले अपडेट गरेको छ । त्यस्तै, दुई खुला सदस्यका लागि ५४ हजार ८२४, महिला सदस्यका लागि २६ हजार १३१ र दलित सदस्यका लागि २३ हजार ५७७ जनाको उम्मेदवारी परेको छ ।

स्थानीय निर्वाचन निर्देशिकाले धरौटी फिर्ता हुने व्यवस्था पनि गरेको छ । दफा १५७ ले भनेको छ, ‘मनोनयनपत्र सदर नभएका, नाम फिर्ता लिएका, जम्मा सदर मतको १० प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गरेका वा दश प्रतिशतभन्दा कम मत प्राप्त गरे पनि निर्वाचित भएका उम्मेदवारले राखेको धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको मितिले ९० दिनभित्र सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले फिर्ता माग गरेमा सम्बन्धित निर्वाचन कार्यालयले निजलाई फिर्ता दिनुपर्नेछ ।’ तर, म्यादभित्र फिर्ता माग नगर्ने उम्मेदवारको धरौटी रकम आयोगले सञ्चित कोषमा दाखिला गर्नेछ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ ।
कहाँ–कहाँ परे उजुरी
ललितपुर महानगरमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृतसमक्ष उजुरी परेको छ । ललितपुर– १८ का गोपाल डंगोलले हालका मेयर महर्जनले आफ्नो कार्यकालको दुई अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्स्योट नगरेको आरोपमा उजुरी गरेको छन् । महर्जनको कार्यकालमा महानगरको बेरुजु महालेखापरीक्षकको प्रतिवेदनमा रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गरिएको छ । उजुरीमा संस्थागत र व्यक्तिगत बेरुजुको रहेको दाबी छ ।
ललितपुर महानगरमै उपमेयरका लागि उम्मेदवारी दर्ता गराएकी मञ्जली शाक्यको उम्मेदवारी खारेजीको माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । उनको उम्मेदवारी नियमसंगत नभएको भन्दै महानगरका स्थानीय ज्ञानबहादुर खड्गीले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी खारेज गर्न उजुरी दिएका हुन् । शाक्यले एमालेबाट उपमेयर पदका लागि सोमबार उम्मेदवारी दर्ता गराएकी छिन् ।
महानगरकै हरिशरण तामाङले मतदाता नामावलीमा नामै नभएकी सिर्जना भुजेलको वडा नम्बर ९ बाट सदस्य उम्मेदवारी परेको भन्दै रद्द गर्न माग गरेका छन् । महानगरकै वडा नम्बर ५ को वडाध्यक्ष पदका उम्मेदवार कांग्रेसका सञ्जीव पाण्डेको पनि उम्मेदवारी रद्द गर्न माग गर्दै अमिन महर्जनले उजुरी दर्ता गराएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसबाट दलित महिला सदस्यकी उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको छ । सुनुवारको प्रतिस्पर्धी एमालेका दलित सदस्यले दाबी–विरोधउपर उजुरी गरेकी थिइन् । उम्मेदवारी दर्ताका क्रममा सुनुवारले दलित भएको आधिकारिक पत्र पेस नगरेको उजुरीमा छ ।
गठबन्धनबाट सिन्धुलीको तिनपाटन गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार कांग्रेसका कर्णबहादुर थापामगरविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । अध्यक्ष रहेका वेला उनले आफ्नै कम्पनीको नाममा पालिकाबाट ठेक्का स्वीकृत गराई काम गरेको र उक्त रकम महालेखाले बेरुजु देखाएको भन्दै एमालेका पालिका अध्यक्षका उम्मेदवार छत्रबहादुर दाहालले उजुरी दर्ता गराएका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका– ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार प्रकाश कतिलाविरुद्ध उजुरी परेको छ । मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेका अनुसार कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदवार मीनराशि गुरुङले दाबी–विरोधउपर उजुरी दिएका छन् । कतिलाविरुद्ध केही महिनाअघि न्यादी आयोजनाको सिमेन्ट ओसारपसारका क्रममा डाँका–चोरी मुद्दा परेको थियो । अदालतमा परेको मुद्दा देखाएर दाबी–विरोध परेको हो ।
कैलालीका दुई पालिकामा चार उम्मेदवारविरुद्ध उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एकजनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । तर, उजुरी कुन व्यक्तिविरुद्ध कसले किन गरेको भन्नेबारे नाम सार्वजनिक गरिएको छैन । यसबाहेक घोडाघोडी नगरपालिकाको महिला सदस्य उम्मेदवार कृष्णा थापा, सदस्य उम्मेदवार चोपलाल चौधरी र वडाध्यक्षका उम्मेदवार हिराजन विष्टविरुद्ध उजुरी परेको छ । पार्टीबाट जोरजबर्जस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टविरुद्ध उजुरी दिएका हुन् । कृष्णा थापा स्वयंसेविका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिव रहेको भन्दै उजुरी परेका बताइएको छ ।
काभ्रेको रोशी गाउँपालिका– ७ मा वडाध्यक्षको उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालय रोशीका अनुसार वडा नम्बर ७ का रामकुमार श्रेष्ठले सोही वडाका मेघबहादुर तामाङविरुद्ध उजुरी दिएका हुन् । दुवैजना सोही वडाको वडाध्यक्षको उम्मेदवार हुन् । श्रेष्ठले तामाङविरुद्ध कालोसूचीमा परेको, बेरुजु भएको आरोप लगाएका छन् ।
बाग्लुङमा दश स्थानीय तहका पाँच उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी परेको छ । काठेखोला गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजु थापाविरुद्ध मुख्य निर्वाचनको कार्यालयमा दाबी–विरोधको उजुरी परेको छ । कांग्रेसबाट उम्मेदवार भएका थापालाई एमालेका अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले दाबी–विरोधको उजुरी दिएको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । थापालाई बेल्जियमको पिआर भएको भनी उजुरी दर्ता गरेको क्षेत्रीले जानकारी दिए । काठेखोला– ३ को महिला सदस्यविरुद्ध पनि उजुरी परेको छ । वडा नम्बर ३ को महिला सदस्य पदका उम्मेदवार नेकपा एसकी देउरूपा खड्का स्वास्थ्य स्वयंसेविका भएको र राजीनामा नदिई उम्मेदवारी दर्ता गराएका कारण सोही वडाका एमालेका महिला सदस्य पदकी उम्मेदवार टुल्कीदेवी खड्काले उजुरी दर्ता गराएकी हुन् ।
ढोरपाटन नगरपालिकाको उपमेयरका उम्मेदवार धनबहादुर कायतविरुद्ध पनि दाबी–विरोधको उजुरी परेको छ । कायतले दोहोरो नागरिकता लिएको भनी उजुरी परेको छ । दाबी–विरोधको उजुरी ढोरपाटन नगरपालिका– ४ का वडाध्यक्षका उम्मेदवार तिलक पुनविरुद्ध पनि परेको ढोरपाटन नगरपालिकाका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । पुनलाई ज्यान मार्ने उद्योगको मुद्दा चलेको दाबी उजुरीमा छ । दुवै उम्मेदवारविरुद्ध प्रतिस्पर्धीले उजुरी दर्ता गरेका छन् ।
बाग्लुङ नगरपालिका– ५ का वडाध्यक्ष पदका उम्मेदवार हरिप्रसाद शर्माविरुद्ध दाबी–विरोधको उजुरी परेको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार शर्माविरुद्ध कांग्रेसका उम्मेदवार फुलप्रसाद सापकोटाले उजुरी दर्ता गरेका छन् । सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाका अनुसार शर्माले आर्थिक अनियमितता गरेको भनी उजुरी परेको छ ।
दार्चुलाका आठ पालिकाका प्रमुख–उपप्रमुख फेरि उम्मेदवार
दार्चुलाका आठ स्थानीय तहका प्रमुख–उपप्रमुखलाई दलहरूले पुनः उम्मेदवार बनाएका छन् । कांग्रेसले महाकाली नगरपालिकाको मेयरमा हंशराज भट्ट र उपमेयरमा सुना बोहरा तथा शैल्यशिखर नगरपालिकाको मेयरमा अमरसिंह धामी र उपमेयरमा राजमती पाललाई पुनः उम्मेदवार बनाएको छ । उनीहरू यसअघि पनि मेयर–उपमेयर थिए । त्यस्तै, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की र व्याँस गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई पनि कांग्रेसले यसपटक फेरि उम्मेदवार बनाएको छ ।
एमालेले अपी हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल र उपाध्यक्ष उर्मिला बोहरालाई यसपटक पनि उम्मेदवार बनाएको छ । त्यस्तै, नौगाड गाउँपालिकामा प्रेमसिंह धामी र गौरीदेवी ठगुन्ना तथा लेकम गाउँपालिकामा प्रमानन्द जोशी र माधवी जोशीलाई अध्यक्ष–उपाध्यक्षमा उम्मेदवार बनाएको छ । माओवादीले पनि मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीलाई नै पुनः अध्यक्षको उम्मेदवार बनाएको छ ।
सिन्धुलीमा उपमेयरको उम्मेदवारी रद्द

सिन्धुलीको कमलामाई नगरपालिकामा सत्तागठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार दीर्घराज श्रेष्ठको उम्मेदवारी रद्द भएको छ । उनी जसपा छाडेर माओवादी प्रवेश गरेका थिए । श्रेष्ठको जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा नाम भएकाले उनी उम्मेदवार बन्न नसक्ने मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए । श्रेष्ठसँगै एक वडाध्यक्ष र सात वडासदस्यको उम्मेदवारी पनि रद्द भएको सापकोटाले बताए ।
विद्रोही उम्मेदवार खडा गर्ने प्रदेश सांसद तथा कांग्रेसका पूर्वजिल्ला सभापति पार्टीबाट निष्कासित
माओवादीका तीन उम्मेदवार पनि कारबाहीमा

गठबन्धनविरोधी गतिविधि गर्ने नेता–कार्यकर्तामाथि पाँच दलले कारबाही थालेका छन् । कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ । डडेल्धुरा सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । स्वतन्त्र उम्मेदवार उठाएर जिल्लामा एमालेसँग तालमेल गरेपछि उनी कारबाहीमा परेका हुन् । त्यस्तै, एमालेसँग तालमेल गरेका तीन उम्मेदवारमाथि माओवादीले पनि कारबाही गरेको छ । एमालेसँग तालमेल गरेका भोजपुरको षडानन्द नगरपालिकाका तीन नेतालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको हो । निष्कासित हुनेमा भोजपुर नगरपालिका– ११ आम्तेकका मोहनसेन राई, षडानन्द नगरपालिका– ९ का शेखर तामाङ र षडानन्द नगरपालिका– १३ का ओमकुमार श्रेष्ठ छन् ।
मेयर र अध्यक्षमा २४ सयभन्दा बढीको स्वतन्त्र उम्मेदवारी
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह
स्वतन्त्र उम्मेदवारहरूको रोजाइ कार्यकारी पदमा धेरै देखिएको छ । महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षमा दलका उम्मेदवारभन्दा धेरै स्वतन्त्र उम्मेदवार देखिएका छन् । निर्वाचन आयोगले देशभरि परेका उम्मेदवारीको वेबसाइटमा अपडेट गर्ने क्रम जारी छ । राति १ बजेसम्मको अपडेटअनुसार देशभरका २९३ मेयर पदका लागि ३४ सय ६७ जनाको उम्मेदवारी परिसकेको छ । त्यसमध्ये १३ सय ७८ स्वतन्त्र उम्मेदवार छन् । अझै चार–पाँच जिल्लाको अपडेट गर्नै बाँकी रहेको आयोगले जनाएको छ । त्यसकारण यो संख्या अझै बढ्नेछ । त्यस्तै, देशभरका ४६० गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ को उम्मेदवारी परेको छ, जसमा एक हजार २४ स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै, उपमेयरमा ३९५ र उपाध्यक्षमा ३६१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । वडाध्यक्षमा अहिलेसम्म ५८ सय ४१ जनाले स्वतन्त्र उम्मेदवारी दिएको आयोगले अपडेट गरेको छ ।