एक महिनाअघि दुई सय रुपैयाँ प्रतिकिलो रहेको कागती अहिले चार सय रुपैयाँ, ६० रुपैयाँ प्रतिकिलो रहेको धनियाँ तीन सय ५० रुपैयाँ
‘केही थोरै कमाउँछु र समाजसेवा गर्छु भन्ने उद्देश्य बोकेर विगत तीन वर्षदेखि कृषि क्षेत्रमा आबद्ध म एक युवा, तर राष्ट्रको लापरबाहीका कारण आज मजस्ता हजारौँ किसानले उत्पादन गरेर बजार नपाउँदा बारीमै फाल्नुपरेको छ । योजस्तो विडम्बना के हुन सक्छ ?’ यो चितवन रेसुंगा कृषि फार्मकी सञ्चालक धनु अधिकारीको पीडामिश्रित आवाज हो । अधिकारीलाई यही सिजनमा काँक्रो बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो, स्थानीय बजार हुँदै पोखरा, काठमाडौंलगायत मुख्य सहरमा उनको काँक्रोले बजार पाएकै थिए । तर, यसपटक भने सोचेजस्तो रहेन । काँक्रोले मूल्य नपाउँदा उनले कृषि पेसाबाटै हात धुनुपर्ने अवस्था आएको छ ।
धनेश्वर पौडेल प्रवक्ता, वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग
अनुगमन गरिरहेका छौँ, मन्त्रालयसँग पनि समन्वय गरेर उपभोक्तालाई मारमा नपर्ने गरी अघि बढिरहेका छौँ । उजुरी आएको खण्डमा व्यवसायीहरूमाथि तुरुन्त एक्सन लिँदै आइएको छ । जतिसक्दो उपभोक्तालाई सहजता प्रदान गर्ने गरी काम भएको छ ।
अधिकारीले पाँच बिघा जमिनमा करिब ४० लाख मूल्यबराबरको लगानी गरेर विभिन्न तरकारी बाली लगाएकी छिन् । तर, यस सिजनमा तीन लाख रुपैयाँबराबरको काँक्रो यतिवेला बजार नपाउँदा बारीमै कुहिने अवस्थामा पुगेको उनी बताउँछिन् । सधैँझैँ काँक्रो बेच्न चितवनको तरकारी मन्डी जाँदा व्यापारीले तीन रुपैयाँ किलो पाए लैजाने भनेपछि लगानीको एक हिस्सा पनि नउठ्ने मूल्यमा बेच्न उनको मनले मानेन । उनी भन्छिन्, ‘मेरो मात्र होइन, यहाँ उत्पादन भएका काँक्रो, टमाटर, बन्दासमेतले गतिलो बजार पाउन सकेको छैन, विशेष गरी काँक्रोले बजार पाउन नसक्दा धेरै नै चिन्तित बनाएको छ ।’
अधिकारी थप्छिन्, ‘बजार पठाउन एक्लैले सकिँदैन, व्यापारीले प्रतिकिलो दुईदेखि तीन रुपैयाँ भन्दा दिँदैनन्, कुहिन दिनुबाहेक उपाय देखिएन ।’ खेतीमा गरेको लगानीअनुसार प्रतिकिलो २० रुपैयाँमा बेच्दा मात्रै काँक्रोमा गरेको लगानी उठ्ने उनको दाबी छ ।
‘तरकारीको मूल्य अकासियो, उपभोक्ता मारमा परे भन्ने खबर सुनिन्छ । तर, आफ्नो तरकारीले मूल्य नपाएर बारीमा कुहिने अवस्था आएको छ । यस्तो हुँदा कसलाई तरकारी फलाउन मन लाग्छ र ?’ अधिकारी प्रश्न गर्छिन् ।
उनी सिमी, टामाटर बोडी, बरेला, करेलालगायत तरकारी २० देखि ४० रुपैयाँ किलोको दरले बिक्री गर्छिन् । यो तरकारी काठमाडौंमा उपभोक्ताको भान्सासम्म आइपुग्दा प्रतिकिलो सय रुपैयाँभन्दा बढी पर्छ ।
आधुनिक सामूहिक कृषिखेतीका अध्यक्ष लेखनाथ भुसाल बजारीकरण र आयातीत तरकारीका कारण आवश्यक मूल्य पाउन नसकेको बताउँछन् । उनी थप्छन्, ‘हामीले पाउनुपर्ने श्रमको मूल्य पाउनुपर्छ भन्ने हो, तर कहिलेकाहीँ व्यापारीहरू आफैँले किसानलाई घुँडा टेकाएर बजार सस्तो बनाइदिन पुग्छन् ।’ समस्या भनेको हाम्रो बजारीकरणमा रहेको र व्यापारीहरूले यसबाट फाइदा उठाउँदै महँगो मूल्यमा बेच्ने र वास्तविक किसानले मूल्य नपाउने अवस्थाको अन्त्य नभएसम्म यो क्रम जारी रहने भुसालको ठम्याइ छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले स्थानीय उत्पादनलाई जोड दिने गरी काम भइरहेको बताए । यो आइरहने र बहस भइरहने समस्या भएको र अबका दिनमा संघीयभन्दा पनि स्थानीय तहबाटै समस्या समाधानको हल गर्दै जानुपर्ने उनको भनाइ छ । उनी थप्छन्, ‘कहीँकतै कुनै समय समस्या आउन सक्छ, तर दीर्घकालीन समस्या समाधानतिर लाग्नुपर्छ भन्ने जोड मन्त्रालयको हो । बजारको समस्या समाधान हुने गरी नै काम भइरहेको छ, व्यवस्थित गर्दै जानेछौँ ।’
कालिमाटी तरकारी बजार विकास समितिमा भने काँक्रो थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ भए पनि खुद्रा पसलहरूमा ७० देखि ८० रुपैयाँसम्म प्रतिकिलो रहेको छ । पछिल्लो एक महिनाकै बीचमा कागतीको भाउ दोब्बरले बढेको छ । एक महिनाअघि कागतीको मूल्य दुई सय रुपैयाँ रहेको थियो भने हाल चार सय रुपैयाँ प्रतिकेजी रहेको छ । नेपाली उत्पादन अहिले शून्यप्रायः भएको र भारतमा पनि उत्पादन कम भएकाले त्यहाँसमेत यसको मूल्य बढेको आयातकर्ता बताउँछन् । नेपालमा भने कागतीको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।
त्यस्तै, कालो अंगुरको मूल्य पनि अघिल्लो महिनाको तुलनामा ५० रुपैयाँले वृद्धि भएको छ । काउली स्थानीय, घिउसिमी, मटरकोसाको मूल्य उच्चदरले बढेको छ । खुद्रामा कागतीको साइजअनुसार एक गोटाकै २० देखि २५ रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन् ।
केरा हालसम्मकै महँगो
केराको मूल्य अत्यधिक बढेको छ । राष्ट्र बैंकले एलसीमा मार्जिन राख्ने निर्देशन दिएकाले भारतबाट आयात नभएपछि मूल्य बढेको व्यापारीहरू बताउँछन् । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार थोकमै केराको मूल्य प्रतिदर्जन गत वर्षको भन्दा ५० रुपैयाँले वृद्धि भएको छ । केरा विलासी वस्तु नभए पनि आयात ठप्प हुँदा मूल्य उच्च हुन पुगेको समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘केराको मूल्य हालसम्मकै उच्चदरमा बढेको यो पहिलो रेकर्ड हो, यसअघि कुनै चाडपर्वको समयमा मात्र मूल्य केही महँगो हुन्थ्यो, तर अहिले आयातमा रोकिएकाले बजारमा केराको अभाव हुन सक्ने हुँदा मूल्य बढेको देखिन्छ ।’ हाल केराको खुद्र्रा मूल्य प्रतिदर्जन दुई सय रुपैयाँसम्म पुगेको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, झापा, दाङ, रुपन्देही, बारा, सर्लाही, मोरङ, सुनसरी जिल्लाहरूमा पनि केरा व्यावसायिक रूपमा खेती हुने गरेको छ । विकास केन्द्रकी प्रवक्ता यमकुमारी श्रेष्ठका अनुसार क्षेत्रफल उत्पादनको हिसाबले नेपालमा धेरै उत्पादन हुने फलफूलमा आँप र सुन्तलापछि तेस्रो स्थानमा केरा पर्छ ।
उपभोक्ताले ग्यास पाएका छैनन्, व्यवसायी भने दैनिक एक लाख सिलिन्डर बेचेको बताउँछन्

चैतको पहिलो सातादेखि नै उपभोक्ताले ग्यासको अभाव झेलिरहेका छन् । हप्तौँदेखि नाम टिपाएका उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । सर्वसाधारणले सहज ग्यास पाउन नसकेर हैरानी व्यहोर्न बाध्य भइरहँदा ग्यास आपूर्तिकर्ता आयल निगम र ग्यास व्यवसायीहरू भने ग्यासमा कुनै समस्या नभएको बताउँछन् ।
नागेन्द्र शाह, अर्थ विभाग प्रमुख, आयल निगम
उपभोक्ताबाट अभावको गुनासो आउन थालेपछि अन्य वेला दैनिक ७० बुलेट आउनुपर्नेमा अहिले दैनिक एक सयभन्दा बढी बुलेट ग्यास ल्याइरहेका छौँ । त्यति गर्दा पनि अभाव भइरहेको छ भने हाम्रो समस्या होइन ।
६ चैतदेखि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि एक हप्ता ग्यास आपूर्ति रोकिएको थियो । सार्वजनिक यातायातजस्तै इन्धन ढुवानीमा पनि वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम समिति नै बनाएर आन्दोलन गरिरहेका थिए । नेपाल आयल निगमले व्यवसायीको मागलाई जेठको १५ गतेभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा त्यसको १५ दिनभन्दा बढी बितिसक्दा पनि ग्यासको अभाव कम भएको छैन ।
नेपाल आयल निगमका अर्थ विभाग प्रमुख नागेन्द्र शाहले निगमबाट ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताए । ‘व्यवसायीले केही हप्ता बन्द गर्दा अहिले बजारमा अभाव देखिएको हुन सक्ला,’ उनले भने, ‘उपभोक्ताबाट अभावको गुनासो आउन थालेपछि अन्य वेला दैनिक ७० बुलेट आउनुपर्नेमा अहिले दैनिक एक सयभन्दा बढी बुलेट ग्यास ल्याइरहेका छौँ । त्यति गर्दा पनि अभाव भइरहेको छ भने हाम्रो समस्या होइन ।’ ग्यास व्यवसायीहरू भने ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताउँछन् । सामान्य अवस्थामा हुँदा सोही समयमा ७० हजारदेखि ८० हजार सिलिन्डरकोे माग आउने गरेकोमा अहिले दैनिक एक लाख २५ हजार सिलिन्डर वितरण गरिरहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले बताए ।