पुनः मेयरमा उठ्न रेनु दाहालले दिइन् राजीनामा

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनबाट पुनः सिफारिस भएपछि रेनु दाहालले अहिलेको जिम्मेवारीबाट राजीनामा दिएकी छिन्। दाहालले भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीलाई मेयर पदबाट राजीनामा दिएको पत्र बुझाएकी हुन्। 

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएपछि उनले राजीनामा दिएकी हुन्। यसअघि एमालेबाट भरतपुरको मेयरमा उठ्न लागेका विजय सुवेदीले पनि हिजो बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए। 

गठबन्धनले भरतपुरको प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसलाई दिने गरी निर्णय गरेपछि दाहाल पुन: मेयरमा उठ्न लागेकी हुन्।  विकास, समृद्धिको मोडेल भरतपुरलाई लिइएको र माओवादीको संगठनात्मक आधार पनि भएकाले भरतपुरको अधुरा सपना पूरा गर्न माओवादीले पुनः आफूलाई मेयर उठाएको दाहालले बताइन्। 

‘अघि बढेका योजनाहरू सम्पन्न गर्ने र विकासका परियोजना पूर्णता दिनु छ,’ उनले भनिन्, ‘मेरो इच्छा–चाहनाभन्दा पनि सबैले आवश्यकता ठान्नुभएको छ।’ 

महिलाले नेतृत्व गरेको महानगरपालिका भरतपुर देशकै अब्बल महानगर भएकोसमेत बताइन्। भरतपुर महानगरपालिकाको जिम्मेवारी अब नयाँ नेतृत्व नआउँदासम्मका लागि उपमेयरले समाल्नेछिन्। 

राजीनामाअघि दाहालले जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन एवं धन्यवाद समारोह आयोजना गरेकी थिइन्। महानगरमार्फत आयोजित कार्यक्रममा महानगरले गरेका कामको विषयको पुस्तक र भिडियो डकुमेन्ट्रीसहित भित्ते पात्रो सार्वजनिक गरिएको थियो। 

उपमेयरमा कसको चर्चा ? 
केही दिनअघि कांग्रेसको भरतपुर महानगर समितिले उम्मेदवार बन्न चाहनेहरूसँग आवेदन माग गरेको थियो। त्यहाँ मेयरमा २५ र उपमेयरमा २४ जनाले दाबी पेस गरेका थिए। 

अहिलेसम्म नेपाली कांग्रेसले कसलाई उपमेयर बनाउने भनेर निर्णय गरेको छैन। मेयरमा आकांक्षा राख्नेहरू पनि मेयर नपाउने पक्का भएपछि उपमेयरका लागि लबिङ गर्न सुरु गरेका छन्। चितवनमा शेखर कोइराला पक्ष बलियो छ। 

मेयर माओवादीलाई नभई कांग्रेसले नै पाउनुपर्ने भन्दै यो पक्ष लबिङ गर्दै आएको  थियो। त्यसैले पनि उपमेयर शेखर कोइराला पक्षले पाउने देखिन्छ। वडाध्यक्ष एवं कांग्रेस महानगर सभापतिसमेत रहेका चित्रसेन अधिकारी, कांग्रेस बागमती प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठसँगै महासमिति प्रतिनिधि डा. सूर्यकान्त घिमिरे, शंखर कँडेल, टंकनाथ पौडेलको नाम उपमेयरका लागि चर्चामा छ।

यता उपमेयरका लागि भरतपुरमा एमालेबाट १० जनाको दाबी छ। उपमेयर आकांक्षीमा गत निर्वाचनमा पराजित दिव्या आचार्य, जिल्ला समन्वय  उपप्रमुख मुना श्रेष्ठसहित सीता पुन, निशा अधिकारी, शारदा कुमाल, शान्ति अधिकारी, सुनिता अधिकारी, विष्णु भण्डारी, गीता श्रेष्ठ, अञ्जना गौतम  छन्। भरतपुरमा राप्रापासँग तालमेल हुने सम्भावनाले पनि एमालेले उपमेयर टुंग्याउन ढिलो गरेको बुझिन्छ। 

विवेकशील साझा चितवनले मेयरमा प्रवीन काफ्ले र उपमेयरमा  पुष्पा सापकोटालाई उठाउँदै छ।
 

सुझावित समाचार