राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिबद्धता-पत्र सार्वजनिक गरे।
प्रतिबद्धता-पत्र सार्वजनिक गर्दै उनले राप्रपाले निर्वाचन जितेको स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने बताए। उनले सुशासन कायम गर्न भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने, जनतालाई छिटो छरितो सेवा दिने, निर्वाचन जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय ऐनहरूको निर्माण तथा परिमार्जन गर्ने बताए।
त्यसैगरी १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षा दिइने राप्रपाको प्रतिबद्धता-पत्रमा उल्लेख छ। सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय स्थापना गर्ने, सबै विद्यालयमा अनिवार्य कम्युटर शिक्षा प्रदान गर्ने उल्लेख गरिएको छ।
गरिबीका रेखामुनि रहेका वर्ग तथा अल्पसंख्यक समूहका न्यूनतम एकजना विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र र इन्जिनियरिङ अध्ययन गर्न छात्रवृत्ति दिइने राप्रपाको नीति छ।
विद्यालयका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने पनि उनले घोषणा-पत्र सार्वजनिक गर्दै लिङ्देनले बताए।
सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा, प्रत्येक वडामा प्रसूति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिइने जनाइएको छ।
त्यस्तै सिक्कलसेल एनिमिया जस्ता रोगका बिरामीलाई निःशुल्क उपचार, क्यान्सर, मिर्गाैला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता र प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप उपलब्ध गराइने राप्रपा अध्यक्ष लिङ्देनले बताए।
कृषिमा किसानको उपज बेच्ने सहकारीलाई अनुदान, सामूहिक खेती गर्ने समूहलाई अनुदान र किसानको खेत खेतमा बिजुलीको व्यवस्था गरिने उल्लेख गरिएको छ।
कृषि तथा बाली बिमाको व्यवस्था, गाई, भैँसी, बाख्रामा कृत्रिम गर्भाधानको निःशुल्क व्यवस्था र गाई भैँसीलाई सुत्केरी भत्ता दिइने प्रतिबद्धता-पत्रमा उल्लेख गरिएको छ।
सार्वजनिक प्रतिबद्धता-पत्रमा सबै घरधुरीमा चार वर्षभित्र आधारभूत खानेपानी सेवा, एक घर एक धारा, उपभोक्ताको स्वामित्वमा खानेपानी योजना र तराईमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उल्लेख गरिएको छ।
५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्यूनतम करको व्यवस्था गर्ने, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने र महिलाले सञ्चालन गरेका साना तथा लघु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट गरिने जनाइएको छ।
त्यसैगरी प्रत्येक वडामा खुला व्यायामशालाको निर्माण, आवश्यकताको आधारमा स्थानीय तहहरूमा रंगशाला, कभर्ड हल र प्रत्येक वडामा खेल मैदान बनाउने प्रतिबद्धता गरिएको छ। सामाजिक कुरीति, दुर्व्यसन, अन्धविश्वास, विभेद र असमानताकाविरुद्ध युवा परिचालन गर्ने पनि उल्लेख गरिएको छ।
एक पालिका एक स्वरोजगार तालिम केन्द्रको स्थापना गर्ने, सीप सिकेका युवालाई बिनाधितो ऋण दिने, सार्वजनिक स्थलमा फ्री वाइफाई , अति विपन्न परिवारका लागि परिचय-पत्र र सुपथ मूल्यको पसल सञ्चालन गर्ने, सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्रावेल सडक बनाउने तथा प्रत्येक वडामा बाल उद्यान पार्क बनाउने राप्रपाले प्रतिबद्धता गरेको छ।