नेप्से परिसूचक ४१ अंकले गिरावट

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३४३.८७ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.८२ अंकले घटेर ४४४.१५ बिन्दुमा झरेको छ।

आज कारोबारमा आएका २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर एक अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढेको हो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। निर्जीवन बिमा, जलविद्युत्, लगानी, जीवन बिमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर र जाल्पा लघुवित्तको सेयरमूल्य बढेको छ। यता, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन ऊर्जा विकास कम्पनी घटेको छ।

कारोबार रकमका आधारमा चार करोड ९६ लाख २६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको नबिल बैंक शीर्ष स्थानमा रहेको छ। हिमालयन डिस्ट्रिलरीको ४ करोड ९२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

सुझावित समाचार