बेहाल सडक : एक वर्षमा चार महिना काम, अहिले अलपत्र

शनिबार, ३ बैशाख, २०७९
डिजिटल संस्करण

सडकमा निर्माणका लागि गाडिएका छड त्यतिकै छन्। तार र जाली पनि सडकमा असरल्ल अवस्थामा छन्। सडक धुलैधुलो हुँदा वरपर बस्ने मानिसहरुलाई पनि समस्या छ।

यो दाङको दंगीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक हो। यो सडक निर्माणको काम पछिल्लो ६ महिनादेखि ठप्प छ। ४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आठ करोड बजेट परेको छ। त्योमध्ये अहिलेसम्म करिब एक करोडबराबरको मात्र काम भएको छ। लामो समयदेखि निर्माण कार्य ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन्। करिब दुई महिना काम गरेका उनीहरूले पारिश्रमिक पाएका छैनन्। ठेकेदारले पटकपटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरहरूले गुनासो गरेका छन्।

करिब ८० जना मजदुरले यसरी पारिश्रमिक नपाएका गणेश डाँगीले गुनासो गरे। ‘करिब ८० जना मजदुरले त्यहाँ काम गर्नुभएको हो’, उनले भने, ‘तर, कसैले पनि काम गरेको पारिश्रमिक पाउनुभएको छैन।’ गत वर्ष जेठ १ देखि काम सुरु भएको थियो। जेठ र असारसम्म चलेर रोकिएको कामपछि कात्तिकमा मात्र सुरु भयो र मंसिरमा पुनः ठप्प भयो। ठप्प भएको काम अझै सुरु हुन सकेको छैन।

पसलमा पनि ठेकेदारको त्यत्तिकै उद्यारो रहेको स्थानीय बताउँछन्। त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भए पनि त्यो सामानको पैसा अझै नआएको उनले गुनासो गरे। उनको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायत गरी एक लाख २० हजार रुपैयाँ लिन बाँकी रहेको उनको भनाइ छ।

लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले आफ्नो पहलमा बजेट परेको त्यस क्षेत्रमा काम ठप्प भएको भन्दै त्यसलाई सुचारु गर्नका लागि पहल भइरहेको बताइन्। ‘मैले ठेकेदारसँग पनि पटकपटक कुरा गरिरहेकी छु। सडक पूर्वाधार कार्यालयसँग पनि कुरा भइरहेको छ’, उनले भनिन्, ‘अब तत्काल सुरु हुन्छ।’ वैशाख ३ देखि काम गर्ने ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिवेलादेखि काम सुरु नभए ठेक्का रद्द गर्ने चेतावनीसमेत दिएको उनले बताइन्।

प्रदेश सभाको ८ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो। भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्सनले उक्त सडक निर्माणको जिम्मा पाएको हो। निर्माण व्यवसायी आकाश भुसालले उक्त सडक निर्माण कार्य तत्काल सुरु गर्ने बताएका छन्। उनले वैशाख ३ गते आफू दाङ आउने र त्यसपछि काम सुरु गर्ने बताए। अहिले निर्माण सामाग्री पनि महँगो भएकाले पनि काममा समस्या भएको उनी बताउँछन्। ‘निर्माण कार्यमा धेरै पुरोना पनि होइन, सिक्दै छु। मसँग धेरै पैसा पनि हुँदैन, अहिले निर्माण सामाग्रीको मूल्य पनि उत्तिकै बढेकाले समस्या भयो,’ उनले भने, ‘म तत्काल अब काम सुरु गर्छु।’

अझै सम्झौताको समय बाँकी रहेकाले समयमै काम सक्ने उनको दाबी छ। आगामी माघमा सक्ने गरी सम्झौता भएको हो। तोकिएको समयमै काम सक्ने उनले प्रतिबद्धतासमेत जनाएका छन्। उक्त सडकमा नाला वाल निर्माण, कालोपत्रेलगायतका काम बाँकी छन्। मजदुरहरूले आफ्नो ट्याक्टर पल्टाइदिएर क्षति बनाएपछि काममा अवरोध आएको उनले बताए। उनको ट्याक्टर अहिले इलाका प्रहरी कार्यालय हेकुलीमा राखिएको छ। उनले भाग्यलक्ष्मी क्रसर उद्योगको जेसिबी पनि प्रयोग गरेका थिए। त्यो जेसिबी पनि उद्योगले लगिसकेको छ।

सुझावित समाचार