तालमेलबारे कांग्रेसको इतर समूहमै दुई धार

शुक्रबार, २ बैशाख, २०७९
डिजिटल संस्करण

नेता कोइरालाले आन्तरिक मतभेद हल गर्दै गठबन्धनमै अगाडि बढ्ने संकेत गरेका छन् भने महामन्त्री थापा तालमेलको विपक्षमा छन्

स्थानीय निर्वाचनमा देशैभर तालमेल गरेर जाने पाँचदलीय गठबन्धनको निर्णयप्रति कांग्रेसको इतर समूहमा दुई धार देखिएको छ । इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीभित्रै आन्तरिक मतभेद हल गर्दै गठबन्धनकै पक्षमा अगाडि बढ्ने जनाउ दिएका छन् भने कांग्रेस महामन्त्री गगन थापाले तालमेल देशका लागि हितकर नरहेको बताएका छन् ।

इतर समूहले एक्लै चुनाव लड्नुपर्ने मत राखिरहँदा कांग्रेस केन्द्रीय कार्यसमितिले १५ चैतमा आवश्यकता र परिस्थिति हेरेर स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । त्यसको दुई दिनपछि पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेको थियो । सोहीअनुसार तालमेलका आधार र प्रक्रियासमेत टुंगिसकेको छ । 

पार्टीभित्र टिकटलाई लिएर दौडधुप चलिरहेका वेला नेता डा. कोइरालाले केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको, तर पार्टीभित्र न्यायका लागि संघर्ष गर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देशमार्फत उनले तत्कालका लागि पार्टीका मतभेद भुलेर निर्वाचनमा एक देखिनुपर्ने बताएका छन् । 

‘हाम्रा विरोधी बलिया छन् र संगठन पनि बलियो छ । तसर्थ हामी एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । हामीबीचका मतभेद र मनभेद पार्टीको आन्तरिक जीवनको विषय हो र त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला,’ उनले भनेका छन्, ‘पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि संघर्ष गरिरहनेछौँ । उम्मेदवार तय गर्दा निष्पक्षताका लागि हामी लड्नेछौँ । प्रत्येक अनुकूल र प्रतिकूल परिस्थितिमा व्यक्तिगत महŒवाकांक्षा र स्वार्थ त्यागी एक भएर विरोधीसँग लड्ने प्रण गर्नु आजको आवश्यकता हो ।’

तर, इतर समूहकै नेता पार्टी महामन्त्री गगन थापाले भने केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि स्थानीय तहमा गर्नैपर्छ भन्ने बाध्यता नरहेको बताएका छन् । तालमेल गर्न नहुने आफूहरूको मत अल्पमतमा परेको र पार्टीभित्र बहुमतको निर्णय मान्नुपर्ने बाध्यता रहेको सुनाए ।

बिहीबार कांग्रेस काठमाडौं महानगरपालिका– ८ ले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै तालमेलको विरोध गरे । ‘गठबन्धन र तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छँदै छैन । तालमेल नगरौँ भन्ने मत पार्टीमा राखेँ । तर, बहुसंख्यक साथीले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछि निर्णय मान्नुपर्छ । गठबन्धनमा रहेका दलबीच देशैभरि छलफल चलिरहेको छ, कुराकानी मिल्यो भने तालमेल हुन्छ, नमिले हुँदैन,’ महामन्त्री थापाले भने, ‘कुरा मिलेन भने आ–आफू लड्न पाइन्छ, लड्न पाउनुपर्छ । स्थानीय तहमा हुँदैन भन्दै गर्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर थोपर्न पाउँदैन । थोपरेको कसैले मान्दैन ।’ महामन्त्री थापाले भुइँमा खसेको टिप्छु भन्दै गर्दा पोल्टाको पोखिने डर रहेको भन्दै पहिले पार्टी सम्हाल्नुपर्ने बताए । 

तालमेलबारे छलफलका लागि आज निर्वाचन परिचालन समिति बैठक
निर्वाचनमा तालमेलबारे छलफलका लागि आज निर्वाचन परिचालन समितिको बैठक बस्ने भएको छ । उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले शुक्रबारका लागि बैठक आह्वान गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले स्थानीय तहमा गठबन्धनको अवस्था, कांग्रेसको तयारीलगायत विषयमा छलफल गर्नेछ ।

हामीबीचका मतभेद र मनभेद आन्तरिक विषय हो  : डा. शेखर कोइराला

हाम्रा विरोधी बलिया छन् र संगठन पनि बलियो छ । तसर्थ हामी एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । हामीबीचका मतभेद र मनभेद पार्टीको आन्तरिक जीवनको विषय हो र त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला, पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि संघर्ष गरिरहनेछौँ । उम्मेदवार तय गर्दा निष्पक्षताका लागि हामी लड्नेछौँ । प्रत्येक अनुकूल र प्रतिकूल परिस्थितिमा व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर विरोधीसँग लड्ने प्रण गर्नु आजको आवश्यकता हो ।

गठबन्धन र तालमेल राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

गठबन्धन र तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छँदै छैन । तालमेल नगरौँ भन्ने मत पार्टीमा राखेँ । तर, बहुसंख्यक साथीले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछि निर्णय मान्नुपर्छ । गठबन्धनमा रहेका दलबीच देशैभरि छलफल चलिरहेको छ, कुराकानी मिल्यो भने तालमेल हुन्छ, नमिले हुँदैन । कुरा मिलेन भने आ–आफू लड्न पाइन्छ, लड्न पाउनुपर्छ । स्थानीय तहमा हुँदैन भन्दै गर्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर थोपर्न पाउँदैन । थोपरेको कसैले मान्दैन ।

सुझावित समाचार