गगन थापा भन्छन्– गठबन्धन राजनीतिक संस्कृतिका लागि हितकर छैन, तर मान्नुपर्छ

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण
गगन थापा भन्छन्– गठबन्धन राजनीतिक संस्कृतिका लागि हितकर छैन, तर मान्नुपर्छ

फाइल फाेटाे ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ८ ले नववर्ष २०७९ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन्।

गठबन्धनका दलहरूका बीचमा देशभरि छलफल चलिरहेको उल्लेख गर्दै उनले दलहरूका बीचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताएका हुन्। स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले प्रस्ट पारे।

महामन्त्री थापाले व्यक्तिगत रूपमा आफू तालमेलको पक्षमा नरहेको भए पनि पार्टीले गरेको निर्णय मानेको बताए। उनले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि यो हितकर छँदै छैन। चुनावअगाडि गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो। मत राखेँ। तर पार्टीको बहुसंख्यक साथीहरूले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडि पार्टीको त्यो निर्णयलाई मानेको छु मान्नुपर्छ,’ उनले भने, 'गठबन्धनमा रहेका दलहरूका बीचमा देशैभरि अहिले छलफल चलिरहेको छ। छलफल चल्छ। छलफल चल्दै गर्दाखेरि कुराकानी मिल्यो तालमेल हुन्छ। कुराकानी मिलेन, तालमेल हुँदैन। कुराकानी मिलेन भनेदेखि आ–आफू लड्न पाइन्छ। लड्न पाउनुपर्छ। स्थानीय पार्टीका नेताहरूले ठीक छ भनेर भन्नुभयो हुन्छ।'

सुझावित समाचार