माओवादीको परिपत्र : छुट्टै प्रतिस्पर्धा गर्न केन्द्रको स्वीकृति लिनू

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रले गठबन्धनमा तालमेल नभएको स्थानमा केन्द्रको स्वीकृति लिएर मात्र प्रतिस्पर्धा गर्नुपर्ने निर्णय गरेको छ । पार्टीपंक्तिमा सर्कुलर जारी गर्दै माओवादीले गठबन्धन दलहरूबीचमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति अनिवार्य लिनुपर्ने बताएको हो ।

माओवादीले गत सोमबार जारी गरेको विशेष परिपत्र– ४ मा भनिएको छ, ‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्नेछ ।’

महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा छनोट हुन नसकेमा प्राथमिकताका आधारमा तीनजनाको नाम केन्द्रलाई पठाउन पनि माओवादीको परिपत्र छ ।

माओवादीमा नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्नेछ । सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । उम्मेदवारको अनुमोदन केन्द्रीय कार्यालयबाट हुने प्रचण्डले जारी गरेको विशेष परिपत्रमा उल्लेख छ ।

महिलालाई प्रमुख भूमिकामा अघि बढाउने
माओवादीले स्थानीय तहमा महिलालाई प्रमुख भूमिकामा अघि बढाउने भएको छ । हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलर जारी गरेको हो । यस्तै कम्तीमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीको सर्कुलरमा उल्लेख छ । परिपत्रमा भनिएको छ, ‘महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक प्रमुख वा अध्यक्षमा र कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने ।’

See More On

सुझावित समाचार