गठबन्धनप्रति प्रतिबद्ध छौँ, आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुन्छ : कांग्रेस

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण
गठबन्धनप्रति प्रतिबद्ध छौँ, आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुन्छ : कांग्रेस

फाइल फाेटाे ।

नेपाली कांग्रेसले आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुने जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले एकमहिने चुनावी अभियान सफल भएको र  छिट्टै तालमेलको निर्णय हुने जानकारी दिएको हो। 

प्रवक्ता एवं कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतले लोकतान्त्रिक पद्धतिको संरक्षण र संवर्द्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुने बताए।  ‘नेपाली कांग्रेसले पहिलेदेखि नै स्थानीय आवश्यकता र परिस्थितिअनुरूप सत्तासाझेदार दलहरूबीच स्थानीय तहको  निर्वाचनमा तालमेल गर्न सकिने सम्भावना औँल्याएको थियो,’ उनले भने, ‘राष्ट्र तथा जनताको हित, लोकतान्त्रिक पद्धतिको संरक्षण र संवर्द्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुनेछ।’

पत्रकार सम्मेलनमा कांग्रेसले एकमहिने ‘घरघर जाऔंँ, कांग्रेस जिताऔँ’ अभियानको उद्देश्य पूरा भएको र पार्टीका नेताकार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको जानकारी गराएको थियो। पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाई सँगै लिएर हिँड्ने सदासयअनुरूप स्थानीय निर्वाचनमा तालमेलको प्रयासमा रहेको जानकारी दिए। 

चुनावी अभियानबाट  ‘देशका सबै राजनीतिक दलले र विदेशीले समेत पत्याएको भरपर्दो र देश चलाउने जिम्मेवार पार्टी नेपाली कांग्रेस नै रहेछ’ भन्ने स्थापित भएको कांग्रेसले दाबी गरेको छ। फागुन २९ देखि आरम्भ भएको एकमहिने अभियान देशैभर उत्साहका साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ।

सुझावित समाचार