स्थानीय चुनावमा तालमेल गर्दै परस्पर सहयोगको भावनासहित जाने प्रतिबद्धता गरेका सत्तागठबन्धनका दलहरूलाई तालमेलको मापदण्ड बनाउन भने हम्मे परेको छ । आपसी अविश्वास मेटाउन शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरे पनि तालमेलको मापदण्डबारे केही बोलेका छैनन् ।
‘देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ,’ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको अपिलमा भनिएको छ । उनीहरूले आपसी मतभेद पन्छाउँदै निर्वाचनमा होमिने उल्लेख गरेका छन् ।
तालमेलका लागि चार सन्देश
१. राजनीतिक परिवर्तन उल्टाउनेविरुद्ध लड्न
पाँचदलीय गठबन्धनले नयाँ संविधान जारी भएसँगै नयाँ युगमा प्रवेश गरेको मुलुकमा समावेशिता, गणतन्त्र र स्थायित्व आए पनि त्यसलाई उल्टाउने कदम चालिएको दाबी गरेको छ । ‘परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू यो परिवर्तनविरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालतउपर खेलबाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो,’ शीर्ष नेताहरूले संयुक्त रूपमा जारी गरेको अपिलमा छ ।
२. राष्ट्रको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि
शीर्ष नेताको अपिलमा परिवर्तनविरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको भन्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षाका लागि चुनावी तालमेलको जरुरी भएको उल्लेख छ । अपिलमा भनिएको छ, ‘पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता, उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौँ ।’
३. चुनावमा एक–अर्कालाई सहयोग गर्ने प्रण
शीर्ष नेताहरूले अपिलमार्फत चुनावमा एक–अर्कालाई सहयोग गर्ने प्रण गरेका छन् । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वांगीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एक–अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौँ,’ अपिलमा छ ।
४. विगत भुल्ने र भविष्य खोज्ने
पाँच दलका शीर्ष नेताले अपिलमार्फत विगत भुल्ने र भविष्य खोज्ने गरी अघि बढ्न स्थानीय नेता–कार्यकर्तालाई आह्वान गरेका छन् भने गठबन्धनका उम्मेदवार जिताउन मतदातालाई अनुरोध गरेका छन् । ‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ,’ अपिलमा छ, ‘आदरणीय जनसमुदाय व्यापक सहभागितासहित आगामी स्थानीय तहको निर्वाचन सफल पार्न पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौँ ।’