सत्तागठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिमा चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको चुनावी तयारी तथा अनुगमन समितिको आइतबार बसेको बैठकमा मोडालिटीबारे प्रारम्भिक छलफल भएको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा सामान्य छलफल भएको र शीर्ष नेतासहितको बैठकमा थप छलफल हुने एकीकृत समाजवादीका महासचिवसमेत रहेका समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए ।
पाँचदलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडि बढ्ने, प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँचदलीय बैठक राखी सहमति कायम गरी केन्द्रमा पठाउने र पाँचदलीय गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्ने सुझाव दिने समझदारी बनेको छ ।
गठबन्धनले शनिबारसम्म सबै जिल्लामा गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउन स्थानीय संयन्त्रलाई निर्देशन दिएको थियो। तर,सबै जिल्लाको विवरण आइनसकेकोले ठोस निष्कर्षमा पुग्न नसकेको कार्यदल सदस्यहरूले बताएका छन् ।
सबै जिल्लाको प्रतिवेदनको विश्लेषणका आधारमा गठबन्धनले थप निर्णय लिने तयारी गरेको छ।