प्रो क्लब च्याम्यिनसिप क्रिकेट प्रतियोगिताको शुक्रबार उद्घाटन खेलमा रुपन्देही– ११ ले मलेसियाको टोलीलाई ६ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगितामा मलेसिया–११ टोली गत साता नेपाल र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० आई सिरिज खेलेर भैरहवा आएको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको मलेसिया १९.५ ओभरमा एक सय ३१ रनमा अलआउट भएको थियो । लक्ष्य पछ्याएको रुपन्देहीले १९.२ ओभरमा चार विकेटको क्षतिमा जित निकाल्यो । रुपन्देहीको जितमा अलराउन्डर वसिर अहमद १८ बलमा चार चौकासहित २७ रनमा अविजित रहे । ओपनर प्रज्वल थापाले ३२ बलमा पाँच चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३८ रनको योगदान दिए । सन्दीप रजाली १४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २४ रनमा अविजित रहे ।
रुपन्देहीलाई सानदार जित दिलाउन ओपनर देव खनाल र प्रज्वल थापाले ९.३ ओभरमा ५२ रनको साझेदारी गरेका थिए । नेपाली टोलीबाट अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका देव खनालले ३४ बलमा दुई चौकासहित २२ रन जोडे । मलेसियाका विरनदीप सिंहले ४ ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको मलेसियाका ओपनर विरनदीपले ६३ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए ।
सैद अजिजले २१ बलमा चार चौकाको मद्दतमा २५ रन जोडे । ओपनर जुबैदी जुल्किफ्ली र कप्तान अहमद फैज एक–एक रनमा आउट भएका थिए । मलेसियाका लागि मुनीआन्दीले १५ बलमा तीन चौका र एक छक्काको सहयोगमा २८ रन जोडे । मलेसिया आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका वसिरले ४ ओभरमा १७ रन खर्चेर दुई विकेट लिए ।
कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । रुपन्देहीले अब आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मलेसियाले सोमबार पुस स्पोर्टस् दिल्लीसँग खेल्नेछ । काठमाडौंको जोरा इन्टरनेसनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बंगलादेशका समान एक क्लबले सहभागिता जनाएको रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।