प्रो–क्लब च्याम्पियनसिप : उद्घाटन खेलमा रुपन्देहीसँग मलेसिया पराजित

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

भैरहवामा प्रो–क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार रुपन्देही–११ ले मलेसियाको टिमलाई ६ विकेटले पराजित गरेको छ।  भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा मलेसिया–११ घरेलु टिम रुपन्देही–११ सँग पराजित भएको हो। नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर मलेसिया–११ भैरहवा आएको हो।

१३२ रनको लक्ष्य रुपन्देहीले १९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। रुपन्देहीको जितमा अलराउन्डर बसिर अहमदले १८ बलमा ४ चौकासहित २७ रन जोड्दै अविजित रहे। ओपनर प्रज्वल थापाले ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए। सन्दीप रजाली १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे।

रुपन्देही–११ लाई विजयी बनाउन ओपनर देव खनाल र प्रज्वल थापाले ९.३ ओभरमा ५२ रनको साझेदारी गरेका थिए। नेपाली टोलीबाट अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका देवले ३४ बलमा २ चौकासहित २२ रन जोडे। सुशान्त थापा ६ र तुलबहादुर थापा ७ रनमा आउट भए। मलेसियाका वीरनदीप सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया १९.५ ओभरमा १३१ रन जोड्दै अलआउट भएको थियो। मलेसियाका ओपनर वीरनदीप सिंहले ६३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए। सैद अजिजले २१ बलमा ४ चौकासहित २५ रन जोडे। ओपनर जुबैदी जुल्किफ्लिी र कप्तान अहमद फैज १–१ रनमा आउट भएका थिए। जुबैदी स्पिनर अनिल खरेल र फैज कप्तान कृष्ण कार्कीको बलमा बोल्ड भए। बसिर अहम्मदले एनुल हफिज र सैद अजिजलाई आउट गरे। दुर्गेश गुप्ताले मोहम्मद आमिरलाई १ रनमा बोल्ड गराए। सार्बिन मुनिआन्दीले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे। मलेसियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

रुपन्देहीका बसिर अहम्मदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदा कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अनिल खरेल, दुर्गेश गुप्ता र विक्रम भुसालले समान १–१ विकेट लिए।

रुपन्देहीले अब आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ। मलेसियाले सोमबार पुस स्पोर्ट्स दिल्लीसँग खेल्नेछ। काठमाडौंको जोरा इन्टरनेसनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बंगलादेशका १–१ क्लबले सहभागिता जनाएका रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए।

सुझावित समाचार