झापाको गौरादह–४ महारानीझोडाका नेत्र दाहाल मंगलबार राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काबाट जग्गाधनी प्रमाणपत्र थाप्दै थिए । तर, उनी खासै खुसी देखिएनन् । बरु अनुहारमा शंकाको भाव देखिन्थ्यो । किनकि, उनले ४३ वर्षअघि पनि त्यही जग्गाको धनीपुर्जा पाएका थिए । तर, पुर्जामा रहेको जग्गा नक्सामा कतै भेटिएन ।
राष्ट्रिय भूमि आयोगले वितरण गरेको नयाँ जग्गाधनी प्रमाण पुर्जा लिन आउँदा उनले ०३४ सालमा पाएको पुर्जा पनि साथै बोकेका थिए । ‘०३४ सालको र यो लालपुर्जाको फरक केही देख्दिनँ । लालपुर्जा त छँदैछ । भोग पनि हामीले नै गर्दै आएका छौँ । तर, यो जग्गा नक्सामा कतै देखिँदैन । त्यसैले हामीलाई अर्को पुर्जा होइन, नक्सा चाहिएको हो,’ उनले भने ।
०३३ सालदेखि यहाँ बसोवास गर्दै आएका दाहालसँग विगतदेखि नै यो जग्गाको जग्गाधनी प्रमाणपुर्जा छ । छोराहरूलाई अंशबन्डा दिइसकेपछि पनि उनले मंगलबार एक बिघा जग्गाको पुर्जा पाए । तर, पुर्जा पाएकोमा उनी पनि खुसी छैनन् । ‘पहिलादेखिकै पुर्जाले किनबेच भएको छ । अंशबन्डा गर्न पनि भएको छ । तर, नक्सा नहुँदा यो जग्गाको मूल्यांकन भएको छैन,’ उनले भने, ‘यो जग्गा बैंकमा राखेर ऋण पाइँदैन । बैंकले यो लालपुर्जा चल्दैन भन्छ । जबसम्म हाम्रो ठाउँको नक्सा बन्दैन, तबसम्म खुसी हुने अवस्था छैन । लालपुर्जाको थाक लगाएर मात्र के गर्नु र ?’
झापाको महारानीझोडाका स्थानीयसँग यसअघि पनि जग्गाधनी प्रमाण पुर्जा थियो । तर, नक्सा नहुँदा बैंकले नै जग्गा पत्याउँदैनथ्यो । स्थानीयले फेरि पनि त्यही जग्गाको धनीपुर्जा पाएका छन् । तर, नक्साको पत्तो अझै छैन ।
गौरादह–४ का लोकनाथ ओलीसँग नौ कठ्ठा जग्गाका दुई धनीपुर्जा भए । उनका बुबाले ०३४ सालमै एउटा धनीपुर्जा बनाएका थिए । ०६१ सालमा अंशबन्डामा नौ कठ्ठा जग्गा पाए । मंगलबार दिएको धनीपुर्जासहित उनीसँग दुईवटा धनीपुर्जा भयो । तर, केही व्यवसाय गरौँ भनेर ऋण निकाल्न खोज्दा जग्गा धितो राख्न सक्ने अवस्था छैन । ‘म व्यवसाय गर्न जग्गा धितो राखेर ऋण लिन चाहन्छु । तर, नक्सा नभएकाले ऋण पाउँदिनँ । लालपुर्जा दुईवटा भयो । नचलेपछि के गर्ने ?,’ उनले भने, ‘म त नक्सासहितको पाइन्छ कि भन्नेमा थिएँ । तर, पहिलाको जस्तै लालपुर्जा पाएँ ।’
गौरादह ४ र ५ का आठ हजार गरिब नागरिकसँग धनीपुर्जा रहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ । तर, नक्सा नहुँदा यी धनीपुर्जा चल्तीमा छैनन् । ‘०२४ र ०३४ मा यो भूमि नापी भयो । तर, हामी जहिल्यै बन्धकी भयौँ,’ स्थानीय भीमबहादुर बस्नेतले भने, ‘झोडा फाँडेर यहाँ बसेका मेरा हजुरबुबा र बुबा बितिसक्नुभयो । म पनि पाको भइसकेँ । मेरा बाले पाउनुभएन । मैले पनि पाइनँ । मेरो छोराले पनि अहिलेसम्म चल्ने पुर्जा पाएको छैन । आयोग कति आए कति गए, तर समस्या जहाँको त्यहीँ छ ।’
०४३ सालदेखि विभिन्न समयमा विभिन्न आयोगले स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा बाँडेको गौरादह–४ का वडाध्यक्ष मणिन्द्र कार्की बताउँछन् । तर, नक्सा प्रमाणित नहुँदा जग्गा चलनचल्तीमा नआएको उनको भनाइ छ । ‘विभिन्न समयमा आयोगले धनीपुर्जा बाँडे । तर, नक्सा प्रमाणीकरण नहुँदै आयोगहरू विघटन पनि भए । त्यसकारण यहाँका जग्गा चल्तीमा आएन । यहाँका हामी धनीपुर्जा भएका सुकुमबासी भयौँ,’ उनले भने, ‘मेरो पनि अवस्था उस्तै हो । म पनि धनीपुर्जा भएको सुकुमबासी हुँ ।’
मंगलबार राष्ट्रिय भूमि आयोगले ५० वटा जग्गाधनी प्रमाण पुर्जा बाँड्यो । लामो समयदेखि फिल्डमा विशेष नापी टोली खटेर सर्पट र नापीको काम भएकाले यसपटक भने यहाँका नागरिक र जनप्रतिनिधि केही आशावादी थिए । तर, मंगलबार निराशा हात लाग्यो । अध्यक्ष कार्कीले थपे, ‘अगाडिदेखि नै नापी हुँदै आएको छ । यसपटक भने केही आशा पलाएको छ । ५० वटा बाँड्नेबित्तिकै त नक्सा प्रमाणीकरण नहोला । तर, अरूलाई बाँडेपछि पक्कै हुन्छ भन्ने लागेको छ । यसपटक नक्सा प्रमाणीकरण हुन्छ ।’
राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भने विगतको जस्तो कार्यान्वयन नहुने ‘बतासे’ लालपुर्जा नभएको दाबी गरे । उनले नक्सा तयारपछि मात्र धनीपुर्जा बनेको बताउँदै नक्सासहितको धनीपुर्जा भएको बताए । ‘नक्साविनाको लालपुर्जा बन्दैबन्दैन । कसैले बनाउँछ भने त्यो अपराधी हो । हिजो बतासे लालपुर्जा बाँड्नेले आज अरूलाई पनि बतासे लालपुर्जा बाँडेको आरोप लगाउन सक्छन् । लालपुर्जा हैन, नक्सा ठूलो कुरा हो पनि केहीले भनेछन् । नक्सा त नापी विभागमा सधैँ हुन्छ । नक्साले तपाईं केही गर्न पाउनुहुन्छ ?,’ उनले भने, ‘नक्सासहितको लालपुर्जा मात्र काम लाग्छ । नक्सा नबनी स्रेस्ता बन्दैन । स्रेस्ता नबनी पुर्जा बन्दैन । हामी चौतारामा बसेर बतासे लालपुर्जा बाँड्दैनौँ ।’
अब नक्सा कार्यान्वयन हुने आयोगको दाबी
राष्ट्रिय भूमि आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेले यसपटक भने नक्सा तयार पारेर मात्र धनीपुर्जा वितरण गरिएको बताए । विशेष नापी टोली खटिएर यहाँको नक्सा तयार भइसकेको उनको भनाइ छ । तर, कार्यान्वयनमा ल्याउन केही समय लाग्ने अध्यक्ष पाण्डेले बताए । ‘०३४ सालमा पनि नापी भएको हो । तर, विशेष प्रहरीमा उजुरी परेपछि रोकियो । विशेष नापी टोलीले नक्सा तयार पारेर फिल्डबुक तयार भएको छ । पहिला फिल्डबुक सदर र रुजु गर्छौं,’ उनले भने, ‘त्यसपछि नापीको हाकिमले नक्सा सदर गर्नुहुन्छ । ३५ सयभन्दा बढीलाई पुर्जा वितरण गरेपछि हामी नक्सा प्रमाणीकरण गरेर कार्यान्वयनमा पठाउँछौँ । एउटा नक्सा सिटका मानिसलाई पुर्जा बाँडेपछि नक्सा प्रमाणीकरण गरेर कार्यान्वयनमा पठाउँछौँ । स्रेस्ता मालपोत पठाउँछौँ ।’
राष्ट्रिय भूमि आयोग झापाले विगतमा जग्गाधनी प्रमाण पुर्जा पाएर पनि नक्सा नबनेकालाई विगतको आयोगको अपूरो कामको सूचीमा राखेको छ । हाल यो कामलाई धमाधम अघि बढाइएको जिल्ला अध्यक्ष पाण्डेले बताए । एक वर्षभित्रै यो काम सक्ने उनको दाबी छ । जिल्लामा ३५ हजारभन्दा बढी यस्ता अधुरो काम रहेको अध्यक्ष पाण्डेले बताए ।