खाँदबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण
खाँदबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

खाँदबारी नगरपालिकाको ११ नम्बर वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटोमा ढुंगा सोलिङ गरिँदै । तस्बिर : नयाँ पत्रिका

संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा ग्रामीण सडक निर्माण, गोरेटो बाटोमा ढुंगा सोलिङ गर्ने र नाली कटाउनेलगायतका काम भइरहेका छन् । 

नागरिकलाई आवतजावतमा समस्या देखिएका ठाउँमा बाटोको चौडाइ फराकिलो बनाउने र खाल्डाखुल्डी पुर्नेलगायतका काम पनि भइरहेको खाँदबारी नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा प्रमुख डम्बरु निरौलाले बताए । उनले नगरभित्रका ११ वटै वडामा कार्यक्रम लागू भइरहेको जानकारी दिए । 

यो कार्यक्रमका लागि खाँदबारी नगरपालिकाले नगरका सबै ११ वडामा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसअतिरिक्त ११ नम्बर वडाले १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । सो रकम गोरेटो बाटो सडक विस्तारमा खर्च भइरहेको छ । अन्य वडाले पनि थप एकदेखि दुई लाख रुपैयाँ विनियोजन गरेका छन् । ११ नम्बरका वडाध्यक्ष नगेन्द्रकुमार गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले वडामा राम्रो काम गरेकाले वडाको झन्डै आधा बजेट सोही कार्यक्रमका लागि विनियोजन गरिएको बताए । उनले अन्य योजनासरह नै यो कार्यक्रम पनि लागू भइरहेको तथा गाउँ–गाउँको पैदल हिँड्ने सडकमा ढुंगा सोलिङ गरिएको बताए । 

वडा कार्यालय आफैँले ढुंगा खरिद गरेर सडकमा ढुवानीको साधनले पुर्याइदिने गरेको छ । मजदुरहरू दैनिक रूपमा ढुंगा सोलिङ गर्ने, नाली कटाउने र बाटो फराकिलो बनाउने काम गरिरहेका छन् । सानो बाटो हुँदा हिँडडुल गर्न नै समस्या हुने गरेकोमा अहिले सहज भएको स्थानीय बताउँछन् । नगरभित्र सबैभन्दा राम्रो काम ११ नम्बर वडामा भएको नगरपालिकाको भनाइ छ । ११ नम्बर वडाका अधिकांश ग्रामीण पैदल हिँड्ने गोरेटो बाटोमा ढुंगा छापिएको कार्यक्रम शाखा प्रमुख निरौलाको भनाइ छ । नगरभित्र बेरोजगारीको संख्या बढ्दो रहेकाले यो कार्यक्रममार्फत राहत पुग्ने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा बताउँछन् ।

विश्व बैंकको अनुदान सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात भएको हो । सोही कार्यक्रमअन्तर्गत खाँदबारी नगरपालिकामा ५५ लाख ७७ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । सोही बजेटबाट वडाको सिफारिसका आधारमा योजना पारित हुने गर्दछ । खाँदबारी नगरपालिकाभित्र दुई सय २२ जना पुरुष र दुई सय एकजना महिला गरी कुल चार सय २३ जनाले एक सय दिन रोजगारी पाउनेछन् । उनीहरूले प्रतिदिन ५७७ रुपैयाँमा एक प्रतिशत सामाजिक सुरक्षा करकट्टी गरी तलब पाउँछन् । उनीहरूको पारिश्रमिकबराबरको रकम भुक्तानी बैँकमार्फत गर्ने गरिन्छ ।

मजदुरका लागि जुत्ता, पन्जा, ज्याकेट, हेल्मेट र औजार उपकरणहरू खाँदबारी नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिता जनाउन प्रत्येक वडाले तयार गरेको आर्थिक अवस्था कमजोर, विपन्नलगायत विभिन्न सूचकांकहरूका आधारमा मजदुरहरू सूचीकृत गर्ने गरिन्छ । लाभग्राहीले आ–आफ्नो वडाभित्र रहेका सडक, कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधारलगायतको कार्यमा समावेश भएर काम गरिरहेका छन् । खाँदबारीबाहेक जिल्लाका १० वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम भइरहेको छ ।

सुझावित समाचार