चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँ : मन्त्री भुसाल

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण
चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँ : मन्त्री भुसाल

फाइल फाेटाे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छिन्। गोदावरी नगरपालिका– १४ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताइन्।

‘राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दलहरूबाट व्यक्त भएको छ,’ उनले भनिन्। 

मन्त्री भुसालले गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभई परिवर्तनका एजेन्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताइन्। ‘परिवर्तनविरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो। आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दै छौँ,’ उनले भनिन्। 

मन्त्री भुसालले सात दशक लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। पछिल्ला पाँच वर्षको अवधिमा स्थानीय सरकारले धेरै काम सम्पन्न गरेका भन्दै उनले छोटो समयमा आधारभूत संरचनाको जग बसेको बताइन्। ‘अब जोसुकै निर्वाचित भएर आउँदा पनि सोही जगबाट अगाडि बढ्न सहज हुनेछ,’ उनले भनिन्।

सुझावित समाचार