युएईबाट नेपाली व्यवसायीलाई आतंकित बनाउने जावेद तीन वर्षसम्म पनि पक्राउ परेनन्

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गरिएको करिब एक वर्षपछि विदेशबाट फोन गरेर पैसा मागी व्यापारीलाई आतंकित बनाइएको थियो । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने धम्की निरन्तर आएपछि त्यतिवेला व्यवसायीहरू यति आतंकित बनेका थिए कि उनीहरू तत्कालीन प्रधानमन्त्रीसमक्ष सुरक्षा माग्दै गुहार्न पुगे । 

त्यसरी विदेशबाट व्यापारीलाई धम्काउने व्यक्ति थिए जावेद अनवार दिन । संयुक्त अरब इमिरेट्स(युएई)मा बसेर उनले नेपालमा व्यवसायीलाई धम्क्याउने काम गर्थे । प्रहरीले उनको बारेमा पत्ता लगाए पनि तीन वर्षसम्म प्रयास गर्दा पनि युएईबाट पक्राउ गरेर नेपाल ल्याउन सकेको छैन । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टपोल)ले रेड नोटिससमेत जारी गरिसकेको छ । २९ जुलाई २०२० मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । तर, युएई प्रहरीको ‘असहयोग’का कारण उनलाई नेपाल ल्याउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । बाग्लुङ स्थायी घर भएका उनी सानै उमेरदेखि काठमाडौंमा गुन्डा नाइकेहरूको संगतमा थिए । पछि वैदेशिक रोजगारीमा गएपछि उनलाई नै सो समूहले प्रयोग गरेको थियो । उनीविरुद्ध संगठित अपराध र आपराधिक लाभ मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको छ । 

नेपालमा अन्डरवल्र्ड समूह चलाउने योजनाका साथ सो समूहले गौचनको हत्या गरी फिरौती आतंक मच्चाएको थियो । त्यसमा गौचनलाई गोली हान्ने गिरोहका नाइके समिरमानसिंह बस्नेत नै सहभागी थिए । त्यतिवेला पक्राउ परिसकेका उनले जेलभित्रैबाट त्यस्तो गिरोह चलाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । त्यो गिरोहका अधिकांश पक्राउ परे पनि जावेदलाई भने प्रहरीले निकै प्रयास गर्दा पनि नेपाल ल्याउन सकेको छैन । ‘हामीले बारम्बार आग्रह गर्दा पनि युएई प्रहरीले उनलाई भेटाउन नसकेको भनेर टार्दै आएको छ,’ इन्टरपोल शाखाका एक अधिकारीले भने, ‘तर, हाम्रो सूचनामा उनी युएईमै भएको पुष्टि हुन्छ ।’ युएईसँग सुपुर्दगी सन्धि नहुँदा पनि समस्या भएको प्रहरी अधिकारीको भनाइ छ । सन्धि नभएपछि युएईलगायत देशले नेपालमा अपराध गरेर भागेका व्यक्तिलाई पक्राउ गरी निष्कासन गर्दै आएको छ ।  

जाभेद गुन्डा नाइके समिरमानसिंह बस्नेत समूहका सदस्य हुन् । प्रहरीले वारेन्ट जारी गरेपछि उनी युएईमै लुक्दै आएका छन् । यसरी फिरौती आतंक मच्चाएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगरलाई ०७६ भदौमा पक्राउ गरी सिआइबीले मुद्दा दायर गरेको थियो । सो गिरोहले तत्कालीन गृहमन्त्रीकै भाइ थापा तथा प्रहरी जवान वीरबल भट्टराईलाई समेत आफ्नो समूहमा राखेको थियो । केन्द्रीय कारागारभित्र रहेका वेला गुन्डा नाइके बस्नेतले जवान भट्टराईलाई प्रभावमा पारी उनको सहयोग लिएका थिए । 

गौचन हत्याका दुई आरोपी अझै फरार 
व्यवसायी गौचनको हत्यामा संलग्न दुई अभियुक्त अझै फरार छन् । योजना बनाउनेदेखि गोली हान्न जाँदा मोटरसाइकल चलाउने गंगा लिङ्देन र अजय थापा फरार भएका हुन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरी अधिकारीका अनुसार दुवैजना सो घटनाका योजनाकार समूहकै व्यक्ति हुन् । लिङ्देन सुरुमा गुन्डा नाइके रमेश बाहुन (सुजन पौडेल)को समूहबाट आपराधिक गतिविधिमा लागेका थिए । थापा भने समिरमानकै निकट व्यक्ति हुन् । 

गत २३ असोज ०७४ मा घरबाट निस्किएर कार्यालय जाने क्रममा काठमाडौंको शान्तिनगरमा गौचनको हत्या भएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठसँगको लेनदेनको पैसा नदिएको आरोपमा हत्या भएको खुलेको थियो । 

See More On

सुझावित समाचार