स्पोर्टस् अवार्डका लागि वर्ष खेलाडीको मनोनयन सार्वजनिक

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७८ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा परेका छन् । यस्तै, महिलातर्फ भलिबलकी सरस्वती चौधरी, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ मनोनयनमा परेको अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

पुरुषतर्फ मनोनयनमा परेका प्रिन्स जुनियरतर्फको विश्व वरीयतामा एक नम्बरमा रहेका छन् । दिपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतक र अर्धशतकसहित टी ट्वान्टीमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । नेपाली पुरुष फुटबलको टिममा परेका टिकेन्द्र थापाले पहिलोपटक नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै आएका छन् ।

महिलातर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले घरेलु प्रतियोगिताहरूमा पनि सानदार प्रदर्शन गर्दै आएकी छन् । उषा उमेरसमूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छन् । उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिइन् । एथलेटिक्सकी राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् । १५औँ र १६औँ संस्करणको पोखरा म्याराथनको उपाधि पनि उनले जितेकी थिइन् । 

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइने मञ्चका अध्यक्ष सीताराम ओझाले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । त्यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार प्रदान गरिनेछ । 

See More On

सुझावित समाचार