डेढ वर्षदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जयनगर रेलले आइतबारदेखि यात्रु बोक्ने

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

दिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त उद्घाटन गरेपछि भौतिक पूर्वाधारमन्त्री रेणु यादव शनिबार जनकपुरबाट रेल चढेर कुर्थासम्म पुग्नेछिन्

१ फागुनदेखि विनायात्रु गुड्दै (ड्राई रन हुँदै) आएको कुर्था–जनकपुर–जयनगर रेल सेवा नियमित रूपमा सञ्चालनका लागि आज शनिबार उद्घाटन हुँदै छ । शनिबार उद्घाटन भए पनि सर्वसाधारणले भने आइतबारदेखि मात्र रेल चढ्न पाउनेछन् ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीबाट भर्चुअल रूपमा उद्घाटन गरेपछि कुर्था–जयनगर रेल सेवा नियमित हुने भएको छ ।  

पटक–पटक रेल सञ्चालनको नयाँ समय तोकिए पनि काम हुन सकेको थिएन । तर, शनिबार दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि रेल सेवा नियमित रूपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ बजे भारतको जयनगरमा रहेको नेपाली स्टेसनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ । जयनगरबाट आउने रेलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव जनकपुरधाम हल्टमा रेलमा चढ्नेछिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउनेछ । 

शनिबार रेल उद्घाटन कार्यक्रम भएकाले सर्वसाधारणलाई रेलमा चढ्न आइतबारदेखि मात्रै खुला हुनेछ । ‘शनिबार टिकट काटिनेछैन, आइतबारदेखि मात्रै टिकट काट्ने व्यवस्था मिलाएका छौँ ।’ महाप्रबन्धक झाले भने, ‘टिकट काट्ने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रबार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरूमा खटिइसकेका छन् । तर, शनिबारदेखि नै यात्रु बोकेर चलाउन प्राविधिक समस्या भएकाले आइतबारदेखि नियमित सञ्चालन गर्ने योजना बनाएका छाैं ।’ 

भारत सरकारको आठ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुर–बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको हो । रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसिएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिइसकेको महाप्रबन्धक झाले बताए । विगतमा चोरी भएका रेल्वे ट्र्याकका क्लिपहरू लगाइसकेको महाप्रबन्धक झाले बताए । 

०७७ साल असोजमा नेपाल सरकारले भारतीय रेल्वे कोंकण कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा बोगीसहितका दुईवटा रेल खरिद गरेको थियो । तर, कानुन, कर्मचारी र बजेटको अभावमा रेल सञ्चालन हुन सकिरहेको थिएन । रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुईपटक फेल भएपछि केही दिनअघि तेस्रोपटक अध्यादेशबाट ल्याएको कानुनअनुसार रेल सञ्चालन हुन लागेको हो । 

कुर्थादेखि जयनगरसम्म ७० रुपैयाँ भाडा
नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल ७० र एसीमा तीन सय ५० रुपैयाँ भाडा तोकेको छ । त्यस्तै, एक स्टेसनबाट अर्को स्टेसनसम्मको भाडादर २० रुपैयाँ तोकिएको महाप्रबन्धक झाले बताए । कुर्थादेखि जयनगरसम्म पाँच स्टेसन र तीनवटा हल्ट रहेका छन् । जयनगर, खजुरी, इनर्वा, वैदही र कुर्थालाई स्टेसन तोकिएको छ भने मैनाथपुर, देउरी, परवहा र जनकपुरधामलाई हल्ट तोकिएको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए । ‘तत्काल रेल्वेको टिकट स्टेसनमै गएर खरिद गर्न सकिन्छ,’ उनले भने, ‘पछि घरमै बसेर पनि अनलाइनमार्फत रेलको टिकट बुक गर्न सक्ने सिस्टम बनाउँछाैं ।’

 फेरिँदै रेल्वेको स्वरूप 
भारतीय ब्रिटिस शासकले विसं १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मा लगाइएको थियो । नेपाल सरकारले ती रेल यात्रुका लागि सञ्चालन गर्न थाल्यो । ०५९ सालमा महोत्तरीको विग्ही नदीमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदीको पुल भत्किएपछि उक्त सेवा जनकपुर–जयनगर २९ किलोमिटरमा सीमित हुन पुग्यो । ०७१ साल माघदेखि उक्त सेवा पूर्ण रूपमा ठप्प भएको थियो । सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–बिजलपुर–बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र ट्र्याक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेसा, खानेपानी, विद्युत्लगायतका सम्पूर्ण काम भारत सरकारले गर्ने सहमति भएको थियो । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले पाएको छ ।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घण्टा समय लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भए पनि एक घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एकपटकमा एक हजार यात्रु आवतजावत गर्न सकिनेमा ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु अहिलेकै अवस्थामा र बोगी (डब्बा) थप गरेर त्यसभन्दा बढी यात्रुलाई चढाउन सकिने उनले बताए । 

६९ किलोमिटरमा आठ स्टेसन र ६ हल्ट 
जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गमा आठवटा स्टेसन र ६ वटा हल्ट गरी १४ वटा विश्राम स्थल तोकिएका छन् । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, इनर्वा, खजुरी, महिनाथपुर , वैदही, कुर्था, मोहत्तरीको खुट्टापिराडी र बर्दिवास गरी आठवटा स्टेसन रहेका छन् । त्यस्तै, मैनाथपुर, देउरी परवहा, जनकपुर, महोत्तरीको लोहरपट्टी, सिग्याही र रामनगर गरी ६ वटा हल्ट रहेका छन् । स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोक्ने गरिन्छ । हल्टमा थोरै समयका लागि रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहेको छ । जयनगरमा चार लाइन, इनर्वामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन, जनकपुरमा सिंगल लाइन रहेको छ ।  त्यसैगरी, जयनगरदेखि बिजलपुरासम्मका साना–ठूला गरी एक सय ४२ वटा पुलपुलेसा निर्माण गरिएको छ । रेलमार्गमा एक सय २३ वटा साना र १९ वटा ठूला पुलहरू निर्माण गरिएको ओझाले बताए । 

आर्थिक क्षेत्रमा टेवा पुग्ने विश्वास 
जयनगर–जनकपुर रेल भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच भएको छ । रेल सञ्चालन भएपछि जयनगर हुँदै भारतको राजधानी दिल्ली, पटना, बनारस, कोलकातालगायत भारतका विभिन्न सहरहरूमा सहज यात्रा गर्न सकिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । रेल बन्द भएदेखि जनकपुरको व्यापारमा व्यापक गिरावट आएको भन्दै अध्यक्ष महासेठले भने, ‘रेल सुचारु हुँदा दैनिक हजारौँ भारतीय तीर्थयात्री जनकपुरमा आउने गर्छन् । त्यसले पनि जनकपुरको व्यापारमा सुधार आउँछ ।’ 

रेल बन्द भएपछि भारतीय बजार जयनगरको कारोबारमा ठूलो गिरावट आएको भारतीय व्यापारी मनोज साहले बताए । सीमावर्ती क्षेत्रमा रहेको जयनगर बजारमा किनमेल गर्ने अधिकांश नेपाली रहेका छन् । तर, रेल नै बन्द भएपछि यस क्षेत्रका नेपाली नागरिक हरिने, जटही, मधवापुर, मटिहानीलगायतका सीमावर्ती भारतीय बजारमा जाने गरेकाले जयनगर बजारको कारोबार प्रभावित भएको ती व्यापारीले बताए । 

नयाँ मोडेलका आधुनिक रेल 
डिजेल र विद्युत् दुवैबाट चल्ने दुवै रेल विश्वमै नयाँ मोडेलका रेलका रूपमा तयार गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरका दुवै रेल १६ सय हर्स पावरका हुन् । प्रतिघण्टा एक सय १० किलोमिटरको स्पिडमा चल्न सक्ने रेल एकपटकमा एक हजार तीन सयसम्म यात्रीले यात्रा गर्न सक्छन् । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा बोगीमा ७० वटा सिट रहेका छन् ।

२० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र दुई जनरल बोगी रहेका छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेलको कभरेज दिने रेलमा आवश्यकताअनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरी बनाएको रेल भारतमा सञ्चालनमा रहेका अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले बताए । नेपाल सरकारले खरिद गरेको रेल यात्रुबाहक रेल रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपसार गर्न मिल्दैन, यो पूर्णतः यात्रु ओसारपसारको उद्देश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहमा कम्पनीले रेललाई नेपालकै झन्डाको रङमा पेन्ट गरिएकाले रेलको आकर्षणलाई झन् बढाएको उनले बताए ।

आगामी दुई महिनामा बिजलपुरासम्म पुग्ने  
पहिलो चरणमा कुर्था–जयनगरसम्म सञ्चालन हुने रेल अगामी दुई महिनाभित्रैमा दोस्रो चरणमा बिजलपुरासम्म पुग्ने बताइएको छ । कुर्थादेखि बिजलपुरासम्मको निर्माणको काम अन्तिम चरणमा पुगिसकेकाले अगामी दुई महिनाभित्रै बिजलपुरासम्म रेल पुग्ने रेल्वे जनकपुरका साइट इन्जिनियर विनोद ओझाले बताए । कुर्थादेखि बिजलपुरासम्मको ट्र्याक निर्माण, स्टेसन, हल्ट निर्माण पूर्ण भइसकेको र स्टेसन भवनहरूको रङरोगन पनि भइरहेको छ । उनले बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा अधिग्रहणको काम धमाधम भइरहेकाले आगामी तीनदेखि चार वर्षभित्रमा बर्दिवाससम्म रेल पुग्ने बताए । 
 

सुझावित समाचार