जन्म दमकमा, प्रमाणपत्रमा जन्मस्थान भुटान

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण
जन्म दमकमा, प्रमाणपत्रमा जन्मस्थान भुटान

दमक नगरपालिका– ३ वडा कार्यालयले त्रुटि गरेको जन्मदर्ता प्रमाणपत्र देखाउँदै आठ वर्षीय एडी राई ।

वडा कार्यालयको कमजोरीले भुटानी शरणार्थी शिविरका अधिकांश बालबालिकाको जन्मदर्ता प्रमाणपत्रमा त्रुटि

दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरका दावा तामाङलाई फुटबल खेलमा राम्रो क्षमता देखेपछि गोर्खा स्पोर्टिङ क्लबले उनलाई आबद्ध गर्न चाह्यो । त्यसका लागि क्लबले उनीसँग जन्मदर्ताको प्रमाणपत्र माग्यो । २२ वर्षका दावाले त्यस्तो प्रमाणपत्र लिएका थिएनन् । शरणार्थी शिविरमै जन्मिएको हुनाले उनी जन्मदर्ता गराउन ३ नम्बर वडा कार्यालय पुगे । आवश्यक कागजपत्र पेस गरेपछि कार्यालयले उनलाई प्रमाणपत्र दियो । क्लबमा प्रमाणपत्र बुझाउने क्रममा उनले देखे, त्यहाँ जन्मस्थान भुटान लेखिएको रहेछ । 

‘प्रमाणपत्र लिने क्रममा मैले हेरिनँ । पछि क्लबका दाइहरूले तँ भुटानमा जन्मिएको होस् भनेर सोध्दा अचम्ममा परेँ । प्रमाणपत्रमा मेरो जन्मस्थान भुटान लेखिएको रहेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘मेरा आमाबुबा भुटानबाट आउनुभएको हो । तर, म यहीँ भुटानी शरणार्थी शिविरमा जन्मिएको हुँ ।’

दावाको मात्र होइन, अर्का भुटानी शरणार्थी आठ वर्षीय एडी राईको जन्मदर्ता प्रमाणपत्रमा पनि जन्मस्थान भुटान लेखिएको छ । उनी भुटानी शरणार्थी शिविर बेलडाँगीमा जन्मिएका हुन् । तर, दमक–३ वडा कार्यालयको प्राविधिक समस्याका कारण उनको प्रमाणपत्रमा पनि जन्मस्थान गलत लेखिन पुग्यो । एडीकी आमा वीरमायाले भनिन्, ‘हामी भुटानबाट आएको ३० वर्ष भयो । मेरो नानी आठ वर्षअघि यही दमकको आम्दा अस्पतालमा जन्मिएको हो । अनि जन्मस्थान कसरी भुटान लेख्न मिल्छ ?’ उनले प्रमाणपत्र नसच्याउँदा पछि छोरालाई अप्ठ्यारो हुन्छ कि भन्ने डर लागिरहेको बताइन् । 

भुटानी शरणार्थी बालिका आकृति राईको जन्मदर्तामा पनि जन्मस्थान भुटान नै उल्लेख छ । जन्मदर्ता गराउन जाँदा जन्मस्थान भुटानी शरणार्थी शिविर बेलडाँगी हो भनेर भन्दा पनि वडा कार्यालयका कर्मचारीले भुटान लेखेर प्रमाणपत्र दिएको आकृतिकी आमा विष्णुमायाले सुनाइन् । 

यी केही प्रतिनिधि उदाहरण हुन् । शरणार्थी शिविरमा जन्मिएका अधिकांशको जन्मदर्ता प्रमाणपत्रमा वडा कार्यालयले भुटान लेख्ने गरेको छ, जुन सरासर गलत हो । कुनै पनि व्यक्तिको जन्मदर्ताको प्रमाणपत्र जन्मिएको स्थानको क्षेत्राधिकार हेर्ने सरकारी कार्यालयबाट मात्र जारी हुन्छ । त्यस्तो कार्यालयले जहाँ जन्मिएको हो, त्यहीँ ठेगाना राखेर प्रमाणपत्र दिनुपर्छ । तर, भुटानी शरणार्थीको हकमा त्यस्तो भइरहेको छैन । 

झापा र मोरङमा बसोवास गर्ने भुटानी शरणार्थी बालबालिकालाई जन्मिएको आधारमा जन्मदर्ता गर्न सुरु गरेको आधा दशक भइसकेको छ । भुटान सरकारले नेपालीभाषी भुटानीलाई लखेटेपछि शरण लिन नेपाल आएको झन्डै तीन दशक भयो । तर, जन्मदर्ता सुरु गरिएको करिब पाँच वर्ष मात्र भयो । नेपालमै जन्म भएको आधारमा दमक नगरपालिका र मोरङको पथरी–शनिश्चरे नगरपालिकाले भुटानी शरणार्थीलाई जन्मदर्ताको प्रमाणपत्र दिँदै आएका छन् । दमक–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा लामो समयदेखि भुटानी शरणार्थी बस्दै आएका छन् । दमक–३ वडा कार्यालयले भुटानी शरणार्थी बालबालिकाको जन्मका आधारमा जन्मदर्ता प्रमाणपत्र दिँदै आएको छ । तर, प्रमाणपत्रमा गम्भीर त्रुटि रहेको छ । 

प्रमाणपत्र दिइएका बालबालिकाको जन्मस्थान भुटान लेखिएको छ । जबकि भुटानमा जन्म भएको भए वडा कार्यालयले उक्त प्रमाणपत्र दिनै मिल्दैन । किनकि, यो प्रमाणपत्र शरणार्थी शिविरमा जन्मिएकालाई मात्र दिने गरिएको दमक नगरपालिकाले जनाएको छ । प्रमाणपत्र पाएका बालबालिका तथा युवायुवती भुटानबाट नेपाल आएर जन्मिएको उनीहरूको जन्ममितिमा उल्लेख छ । वडा कार्यालयले दिएको उक्त प्रमाणपत्रमा केहीको जन्मस्थान दमक–३ नै उल्लेख गरेको छ । तर, केही जन्मदर्तामा त्रुटि गर्दै जन्मस्थान भुटान बनाएको छ । दमक–३ वडा कार्यालयका अनुसार पाँच वर्षमा करिब एक हजार भुटानी शरणार्थी बालबालिकालाई जन्मदर्ता प्रमाणपत्र दिइएको छ । तीमध्ये अधिकांशको जन्मस्थान भुटान छ । 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल नेपालमा जन्मिएको व्यक्तिको प्रमाणपत्रमा भुटान लेख्नै नमिल्ने बताउँछन् । भुटानी शरणार्थीलाई जन्मदर्ताको प्रमाणपत्र दिने निर्णय भइसकेकाले प्रमाणपत्र दिन सकिने, तर यहाँ जन्मिएकालाई भुटान लेख्न नमिल्ने उनको भनाइ छ । ‘जन्मदर्ता प्रमाणपत्र दिँदा केही फरक पर्दैन । जस्तो, हामी अमेरिकामा जन्मिएको भए पनि त्यहाँको सरकारले प्रमाण त दिन्थ्यो नि ! नागरिक भुटानी नै हो भने त्यही जनाएर जन्मदर्ता दिँदा हुन्छ,’ गृहप्रवक्ता पोखरेलले नयाँ पत्रिकासँग भने, ‘तर, जन्मस्थान भुटान लेख्न मिल्दैन । स्थायी ठेगाना भुटान भए पनि झापामा जन्मिएको हो कि मोरङमा त्यहीँको स्थान उल्लेख गर्नुपर्छ ।’

दमक नगरपालिकाको ३ नम्बर वडा कार्यालयले भने सफ्टवेयरमा समस्या हुँदा त्यसरी भुटान लेखिएको बताएको छ । दमक–३ का वडासचिव सन्दीप सुवेदीले सफ्टवेयर परिवर्तन हुँदा केही गल्ती भएको स्वीकार गरे । यद्यपि, उनले केहीको जन्मदर्तामा मात्र त्यस्तो भएको दाबी गरे । 

सुझावित समाचार