मेगा बैंक नेपाल लिमिटेडले देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले ‘ग्लोबल मनी विक २०२२’लाई सफल बनाउने उद्देश्यले ७ देखि १३ चैतसम्ममा सातै प्रदेशका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
यसअन्तर्गत प्रदेश नम्बर १, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीनवटा शाखा तथा बागमती प्रदेशका चारवटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी २५ वटा शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । ‘ग्लोबल मनी विक’ वित्तीय शिक्षाको महŒवका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।
सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु रहेको बैंकले जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेको छ । डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय–आर्जनको पहिचानका साथै आय–आर्जनको उपयोगिता बढाउनेलगायत अन्य वित्तीय जानकारीका सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति लक्षित वर्गलाई अभिप्रेरित गर्न कार्यक्रम गरिएको बैंकको दाबी छ ।