केही वर्षअघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर अहिले मधेस प्रदेशकै नमुना अस्पतालमा रूपमा पहिचान बनाएको छ । मधेस सरकारमातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेस प्रदेशमै नमुना अस्पतालको रूपमा सर्वसाधारणले लिन थालेका छन् ।
विशेषज्ञ चिकित्सक, बेडको चरम अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिंग बनेको थियो । तर, मधेस प्रदेशमातहत आएसँगै अस्पतालले दिने सेवामा व्यापक सुधार आएको छ । प्रदेश सरकारले अस्पताललाई पाँच सय बेडको बनाउने निर्णय गरे पनि अहिले चार सय बेडबाट सेवा प्रवाह भइरहेको छ ।
प्रादेशिक अस्पताल प्रदेश सरकारमातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुईदेखि अढाई सयसम्म बिरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सयसम्म दैनिक बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा. प्रमोद यादवले कार्यकालमा अस्पतालले करिब एक दर्जन थप सेवा विस्तार भएको थियो । क्यान्सर ओपिडी सेवा सुरु, एनआइसी, आँखा विभाग, न्युरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार भएको छ ।