मलेसियासँग पिएनजी आठ रनले पराजित

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी– २० शृंखलाअन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) मलेसियासँग ८ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुवात पनि गरेको छ। पिएनजीले लगातार दोस्रो हार ब्यहोरेको हो। पहिलो खेलमा पिएनजी नेपालसँग १५ रनले पराजित भएको थियो।

मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १७२ रन जोड्न सक्यो। पिएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन। यस्तै नोर्मान भानुवाले ४५ रन बनाए। सिमोन अटाईले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए। मलेसियाका लागि सर्भिन मुनियान्डीले ४ तथा मुहमद वाफिक र वीरन्दीप सिंहले ३/३ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रनको योगफल जोडेको थियो। मलेसियाका दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेले। स्कोरबोर्डमा १२ रन छँदा पहिलो विकेट गुमाएको मलेसियाका वीरन्दीप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए।

यसबाहेक वीरन्दीपले सेद अजिजसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। मलेसियाका ओपनर वीरन्दीपले अविजित ५९ रन बनाए। यस्तै, फैजले ५६ रन बनाउँदा अजिज ४७ रनमा पेभेलियन फर्किए। पिएनजीका नोर्मान भानुआले दुई विकेट र नोसैन पोकनाले एक विकेट लिए।

जितसँगै मलेसियाले तालिकामा २ अंक जोडेको छ। यसअघि पिएनजीसँग १५ रनको जित निकालेको नेपालको समान दुई अंक छ। मलेसियाले अब बुधबार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

सुझावित समाचार